रुस्दीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट निकालियो

वासिङ्टन । विश्वचर्चित लेखक सलमान रुस्दीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् ।

उनी बोल्न थालेका छन् । रुस्दीका साथी आतिश तासिरले उनले ख्यालठट्टा गर्न थालेको सामाजिक सञ्जालमा लेखेका छन् ।

विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रवार पश्चिमी न्युयोर्कमा शुक्रवार आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए । माटरले उनको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।

यसैबिच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको बयान दिएका छन् भने अधियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन् । पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेश पत्र लिएर कार्यक्रम स्थलमा पुगेको र त्यो अग्रिम रूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । कालो र सेतो पोसाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो ।

लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रुस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उनले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन् । उनीहरूले रुस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन् ।

लेखक एवम् कलाकार कल पेनले रुस्दी दक्षिण एसियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन् । स्वतन्त्र र खुला समाजका पक्षपाती रुस्दी सत्य प्रस्तुत गर्न नहिचकिचाउने साहसी सर्जक भएको उनले बताएका छन् ।

सन् १९८१ मा प्रकाशन भएको उनको उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तीक्ष्ण आलोचना गर्नुभएको थियो । उक्त कृति सार्वजनिक भएको सात वर्षपछि छापिएको सटानिक भर्सेसले उनलाई विश्वभर चर्चाको चुलीमामात्र पुर्‍याएन अपितु इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रूहोल्लाह खोमेनीले मृत्युदण्ड सुनाए ।

सटानिक भर्सेसले इस्लाम धर्म र पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *