देशैभर ३ सय ९६ अस्पताल शिलान्यास गर्याैँ, वर्तमान सरकारले निरन्तरता दिएन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याएपनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका छन् ।
उनले यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगायतका विभिन्न आयोजनाको शिलान्यास गरेपनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताए ।
आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरेपनि अहिलेको सरकारले आफ्नो भूभागलाई समस्याका रूपमा चित्रण गरेको उनको भनाई छ । ओलीले मुलुकको विकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गरे । आफ्नो पार्टीले सदैव युवाहरूलाई अवसर दिएको भन्दै ओलीले युवाहरूले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे । उनले आफू सदैव देशका लागि समर्पित भएको र बाचुन्जेल देशको सेवा गर्ने बताए ।
त्यस्तै अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताए । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने उनले बताए ।








