प्रवासी संगठनलाई लिङ्देनको निर्देशन- ‘सामाजिक सञ्जालको उपयोग गर्नू, चुनावमा भोट हाल्न आउनू’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न आग्रह गरेका छन् । पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गरेका हुन् ।

उनले चुनावको बेला भोट हाल्न नेपाल आउन पनि आग्रह गरे । ‘जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस्,’ अध्यक्ष लिङ्देनले भने, ‘विदेशमा रहेका नेपालीले राप्रपालाई सहयोग गर्न चाहिरहेका छन्, उहाँहरूसँग सम्पर्क बढाउनुस् ।’

उनले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रूपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशनसमेत दिएका छन् । राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री विजय खड्का, पानस आइसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आइसिसीका पदाधिकारी तथा सल्लाहकारहरू, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रवासमा रहेको पार्टीको संगठनलाई चलायमान र परिणाममुखी बनाउन भर्चुअल बैठक फलदायी भएको विभागकी सदस्य सचिव सन्तोषी शाही ठकुरीले बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =