थुलुङ दुधकोशी : जुबुमा ग्रामीण स्वास्थ्य इकाइ र वडा ५ काे कार्यालय उद्घाटन, शाखारहित सेवा शुरू

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा एकैदिन तीन वटा कार्यक्रमको उद्घाटन गरिएको छ । लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालयको भवन उद्घाटन गरिएको हो । वडा नं. ४, ५ र ९ लाई लक्षित गरी सुकेपोखरी बजारमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनकाे उद्घाटन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । कोशीपारिका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्नको लागि बैंकसँग सहकार्य गरी वडा नं. ७ र ८ लाई लक्षित गरी बूढीडाँडा र आज जुबुमा सेवा सञ्चालन गर्न सफल भएको पालिका अध्यक्ष असिम राई बताए ।

जिल्लामा नै बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै अध्यक्ष राईले जेष्ठ नागरिकलाई यातायातमा हुने खर्च र समय बचत हुने विश्वास व्यक्त गरे । यस्तै ग्रामीण स्वास्थ्य इकाइको भवन उद्घाटनपश्चात् सेवा प्रवाहमा निकै सहज हुने इकाइका निमित्त प्रमुख ज्योति राईले बताइन् । यसअघि निजी घरभाडामा लिएर स्वास्थ्य सेवा प्रवाह भइरहेकाे थियाे । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्ट्रक्सनले उक्त भनव निमार्ण गरेको हो ।

यसैबीच, गाउँपालिका र जिल्ला समन्वय समिति सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा ५ को वडा भवनको पनि पालिका अध्यक्ष राईले उद्घाटन गरेका छन् । वडाध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता एवम् पालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा उक्त वडा भवनको उद्घाटन गरिएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपप्रमुख सविता राईले वडा नं. ५ वासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरिन् । हिमालय माविको भवनबाट सेवा दिँदै आएको वडाले अबदेखि आफ्नै कार्यालयबाट प्रदान गर्दा सहजता हुने भन्दै उपप्रमुख राईले गुणस्तरीयताका साथै सहजरूपमा प्रदान गर्नका लागि कर्मचारीलाई निर्देशन दिए ।

यस्तै वडा नं. ७ का वडाध्यक्षसमेत रहेका पालिका प्रवक्ता भोजराज कार्कीले नागरिक सचेत नभएसम्म विकास नहुने भन्दै खबरदारी र समर्थनको भावनामा विकास हुनुपर्ने बताए । पालिका प्रमुख असिम राईले स्थानीय सरकारले भौतिक पूर्वधार निर्मा‌णदेखि जनजीविकाको सवालमा उत्तिकै काम गरिरहेको बताए । भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्रदेखि विकट रहेको विषयलाई मध्यनजर राखी काम गरिरहेको उनले बताएका छन् । ‘गाउँपालिकाको ९ वटै वडालाई समान ढंगले विकास गर्ने अवधारणा छ । यसलाई आत्मसाथ गर्दै हामी अगाडि बढ्छाैँ,’ प्रमुख राईले भनेका छन् ।

उद्घाटन कार्यक्रमका बीच जग्गादातालाई सम्मान गरिएको छ  । यस्तै पहिरोपीडित परिवारलाई राहतस्वरुप १० हजार नगद हस्तान्तरण पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *