टिप्पणी

वित्तीय संस्थासँगै डुब्दै जनता !

काठमाडाैँ । पछिल्लो समय बैंकबाट बचत रकम निकाल्ने क्रम ह्वात्तै बढेको छ । साउन १ गतेदेखि हिजोसम्म देशैभरिबाट ९८ अर्ब पैसा बैंकबाट निकालेको तथ्याङ्क छ । यति छोटो अवधिमा बैंकबाट यत्रो रकम निकाल्नु पहिलोचाेटी होला सायद । योभन्दा अघि यत्रो रकम निकालेको कहिल्यै पनि सुन्नमा आएको थिएन । जनताहरू सचेत हुँदा पनि बैंकबाट पैसा निकाल्ने क्रम बढेको बताइन्छ ।

बैंकमाथि जति पनि विश्वास थियो अहिले त्यो गुमिसकेको छ । बैंकले कर्जा लगानी गरेका क्षेत्रहरू पनि धरासायी बनिसकेका छन् । आफ्नो बचत डुब्ने डरले रातारात रकम निकालेको बुझिन्छ । यता, बैंकका सिईयोले बचतकर्तालाई ९ को साटो १५ प्रतिशत ब्याज दिन्छु भनेर फकाँउदा पनि कोही प्रलोभनमा परेनन् । साँवा नै डुब्ने जोखिम बढेपछि ब्याजको लोभ लाग्ने कुरै रहेन ।

बैंकहरू टाँट पल्टिसकेको विषय लुकाएर लुक्दैन । बैंक धरासायीको अवस्था छ भन्ने पत्तो पाएका जनताले रातारात बचत रकम निकालेका छन् । यतिखेर नयाँ खाता खोल्ने शून्यझैँ छ । डिपोजिट गर्ने पनि ठप्प भइसकेको छ । बरु, भएको खाता बन्द गर्ने र पैसा झिक्नेको लामो लाइन छ । केही दिनअघि मात्र बैंकहरूले यो वर्षमा कमाएको नाफा सार्वजनिक गरेका थिए ।

तर, नाफाको पछाडि जनता दौडिएनन् । न विश्वास नै गरेका छन् । बचतकर्तालाई उल्लु बनाउनका लागि यो उपाय अपनाएकाे भनेर अहिले चर्चा चुलिएको छ । बैंकमा भएको पैसा रोक्ने र बाहिरको तान्ने भनेर यो बाटो रोजेको बुझिन्छ । बैंकमा पैसा नभएर कर्जा बन्द गरेको पनि लामो समय बितिसकेको छ । फेरि कमाउने बाटो पनि कर्जा लगानी हो । जति बढी कर्जा लगानी गर्‍याे, उति नै नाफा हुने त हो ।

सेवाशुल्क, घुस पनि कर्जा लगानी गर्दा आँउछ । बैंकमा कर्जा माग्न गयो भने पैसा छैन भनेर खाली हात फिर्ता पठाँउछ । यता, यति नाफा भयो भनेर सार्वजनिक गर्छ । अनि जनताले कसरी पत्याउने ? बैंकका फटाहा र झुठा आनीबानी त यहीबाट स्पष्ट भइसकेको छ । अब केही दिनमा बैंकमा झनै भीड हुने निश्चित छ । बैंक डुबिसक्यो भनेर सबैले भेउ पाइसकेका छन् ।

जति ढाकछोप गर्न खोजेपनि बाहिर आइसकेको छ । गोप्य राख्न खोजेका बैंकको अवस्था छ्याप्छयाप्ती बाहिर आइसकेको छ । बैंक डुब्ने अवस्थामा आइपुग्दा सिईयोले भटाभट राजनीमा दिन चाहेका छन् । यता, कतिपय कर्मचारीले महिनाैंदेखि तलब नपाएको पनि सुन्नमा आएको छ । बैंक बसेको घरको पनि भाडा रोकिएको छ । घरभाडा पाउन नसकेको घरधनीहरू पिरोलिएका छन् ।

यत्रो रकम बैंकबाट बाहिर गइसकेको देख्दा पनि सम्बन्धित निकाय मौन छ । यसरी धमाधम पैसा निकालेर घरमा राख्दा आर्थिक संकट निम्तिने प्रष्ट हुन्छ । बजारमा पैसाको झनै हाहाकार हुने देखिन्छ । तर, यस विषयमा न अर्थ मन्त्रालयले केही भनेको छ, न नेपाल राष्ट्र बैंकले । सबैतिर सन्नाटा छाएको छ । चियागफ, सार्वजनिक स्थलमा पनि बैंककै विषयमा हल्लाखल्ला छ ।

बैंकमा भएको आफ्नो बचत निकालेर घरमै राख्ने भनेर गफगाफ चलिरहेको हुन्छ । बिहान बैंकको ढोका खोल्न पाएको हुँदैन, पैसा निकाल्नेको भीड जम्मा भइसकेको हुन्छ । त्यस्तै, सहकारी महासंघले पनि सहकारीहरूलाई देशमा आर्थिक संकट आउन सक्ने भनेर पहिल्यै नै सु-सूचित गराइसकेको छ । बजारमा तरलता बढ्ने उल्लेख गर्दै कर्जा दिन महासंघले रोक लगाएको छ ।

पाँच प्रतिशतभन्दा बढी पैसा नदिन र कोटा प्रणाली लागू गर्न निर्देशन दिइएको छ । डिपोजिटवालालाई फिर्ता गर्ने पैसा नभएकाले यो निर्णय गरिएको हो । महासंघको भनाइले सहकारीको अवस्था नाजुक भएको प्रष्ट बुझिएको छ । उनीहरूको यो कुरा जनताले बुझ्नुपर्छ । बजारबाट पैसाचाहिँ उठाइरहने अनि कोटा प्रणाली लागू गर्ने । यो त जनता फसाउने काम भएन र ?

मुलुकमा ३० हजारमाथि सहकारी सञ्चालनमा छन् । ती सहकारीमा करोडौंले बचत गरेका छन् । सहकारीमा खर्बाैँ रपैयाँ बचत गरिएको छ । तर, अब यो डुब्ने देखिएको छ । सहकारी डुब्यो भने लाखौं सर्वसाधारणको घरबार सिद्धिन्छ । सडकको बास काट्नुपर्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको यसतर्फ ध्यान गएको छैन । यत्रो जनताको रकम कसरी जोगाउने भनेर उनले चासो दिएकी छैनन् ।

सहकारीमा एकदमै समस्या आइसकेको छ । तापनि सरकारले बेवास्ता गरिरहेको छ, जुन भोलिका दिनमा थप ठूलो समस्या बन्न सक्छ । सहकारीहरू धमाधम भागिरहेका छन् । तर, मन्त्री श्रेष्ठ सहकारीकै कार्यक्रममा पुगेर दीप प्रज्वलन गरिरहेकी छिन् । सहकारीमा यत्रो समस्या छ, जनताको पैसा डुब्ने अवस्थामा आइपुगेको जानकारी हुँदाहुँदै पनि मन्त्री श्रेष्ठ बुझ पचाएर कार्यक्रममा पुगेकी हुन् ।

सहकारीमा दिनैपिच्छे बचत रकम निकाल्न जाँदा खाली हात फर्किनुपर्ने बाध्यता छ । जनताहरूको रातको निद्रा र दिनको भोक हराइसकेको छ । आफ्नो पैसा डुब्ने तनावमा छन् । तर, मन्त्रीलाई चाहिँ कार्यक्रम उद्घाटन गर्दै ठिक छ । सहकारीले यसरी दुःख दिदाँ पनि मन्त्रीलाई कुनै मतलब छैन । न जनता ठग्ने सहकारीलाई कारबाही गर्न सकेकी छिन् । अझै त्यही ठग सहकारीको कार्यक्रममा पुगेर बोल्न उनलाई लाज लाग्नुपर्ने हो ।

पछिल्लो समय सहकारीका ठगीधन्दाले सञ्चारमाध्यम भरिएका छन् । सहकारीमा भएको बेतिथि भकाभक सार्वजनिक भइरहेको छ । तापनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वडा र नगरपालिकाले पनि सहकारी अनुगमन गरेको छैन । जनताको पैसा बोकेर कुलेलम ठोक्ने सहकारीलाई कारबाही गर्न पनि स्थानीय सरकार चुकेको छ । धेरैको घरमा रुवाबासी चलेको छ ।

यसबाट अरुले पनि पाठ सिकाैँ । आफ्नो पैसा जसरी हुन्छ धमाधम निकाल्नुपर्छ । आफू पनि डुब्ने हो कि भनेर पहिले नै सोचविचार गर्न जरुरी देखिएको छ । सहकारीहरू कुन दिन र कतिखेर भएका बसेका छन् । मौका मिल्नेबित्तिकै उनीहरू भागिहाल्छन् । सहकारीहरूले अझै पनि बजार प्रतिनिधि पैसा उठाउन खटाइरहेका छन् । तर, पहिलेजस्तो पैसा राख्नेको लर्को छैन ।

फाट्टफुट्टले मात्रै बचत गर्दै आएका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष र चेयरम्यान लुकीछिपी हिँडेका छन् । रकम फिर्ता गर्न नसकेपनि उनीहरूले अनुहार पनि देखाएका छैनन् । सहकारीमा कर्मचारी मात्र छन्, सम्बन्धित व्यक्तिको अत्तोपत्तो छैन । ती कर्मचारी पनि तलबविहीन छन् । हिजो आँखा चिम्लेर पैसा राख्दा आज थुकथुकी लागेको भन्न थालिएको छ ।

वर्षाैँभरि खाइनखाई राखेको पैसा जोखिममा पर्दा जनताहरू पिरोलिरहेका छन् । यता, जनताले त सहकारीका सम्बन्धित व्यक्तिलाई चिन्दैनन् । साधारण सभामा जाने, खाममा पैसा बुझ्ने र खाजा खाएर हिँड्ने काम मात्र भो ! आफूले पैसा राखेको सहकारी कति विश्वासयोग्य छ ? सम्बन्धित व्यक्ति कतिको जिम्मेवार छन् ? कसैले पनि यो हेरेनन् । जनताले आफ्नो खुट्टामा आफैँले बञ्चरो हानेका हुन् ।

बाठाटाठा सहकारीमा पुगेर पैसा निकाल्ने अघि बढेका छन् । अलिक सीधासाधीहरू अझै पनि चैनका साथ बसेका छन् । जनताहरूले सहकारीमा लगेर पैसा राख्नुहुँदैन। । जब सहकारी भाग्छ, त्यतिखेर मात्र जनताले भेउ पाँउछन् । सहकारीले यो कुरा लुकाउन खोजिरहेका छन् । यता, वित्तीय संस्थाले कर्जा उठाउन सकेको छैन ।

ऋणीले धितो लिलाम गर भनेर हात उठाइसकेका छन् । धितो राखेर लिएको कर्जा उठ्दैन, उता धितो बिक्री हुँदैन । किन्ने कोही छैन । सेयर, गाडी र घरजग्गामा वित्तीय संस्थाको धेरै लगानी छ । तर, यस क्षेत्रमा यतिखेर पूरै मन्दी छाएको छ । त्यसैले पनि जनताले धमाधम पैसा निकाल्न थालेका हुन् । धितोले कर्जा उठाउन नसक्ने अवस्था आइपर्‍याे । यी क्षेत्रमा लगानी भएका दलालीहरू यतिखेर भागाभाग भइसकेका छन् ।

कर्जा तिर्न नसकेर रुनु न हाँस्नुको अवस्थामा उनीहरू छन् । घरजग्गा र सेयर बेचने यत्तिकै छन्, किन्ने कोही छैनन् । जुन क्षेत्रमा पनि बजार मूल्यले धेरै प्रभाव पार्छ । बजारमा मन्दी छाउँदा वित्तीय संस्थालाई साह्रो मर्का पर्‍याे । वित्तीय संस्थाकै कारणले हिजो कतिपय भागेका थिए भने अब यिनीहरू नै भाग्नपर्ने अवस्था आएको छ । बैंक फाइनेन्समा पैसा निकाल्न रातिदेखि लाइन लाग्छन्, अनि पैसा तिर्न नसकेपछि भाग्नुबाहेकको उपाय रहँदैन । वित्तीय संस्थामा राखेको पैसा जोखममा परिसकेको छ ।

— अनुसा थापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.