तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

भजनी । कैलालीको टीकापुर नगरपालिका ८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन । रातिको समयमा चारदेखी पाँच पटक कर्णाली नदीतिर नजर लगाउने गरेको उनले बताए । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनले बताए ।

‘दिनभर काम गरेर थकित भइन्छ । बाढीको त्रासले निन्द्रा लाग्दैन । कुन्तीले भनिन, ‘सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ ।’ सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भएपनि वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताइन् । उनले कर्णाली नदीका कारण आफूहरु सधैँ त्रासमा रहने बताइन् ।

‘अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन ।’ इन्द्रबहादुरले भने, ‘तराईमा पानी नपर्दा पनि बाढी आउँछ ।’ पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ ।

कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्छन् । उनले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए ।

‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न पाइँदैन ।’ साउँदले धने, ‘नदी तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्याजस्ताको त्यस्तै छ ।’ वडा नं ८ कै श्रीलङ्कामा खेतीयोग्य सयौँ बिघा जमिनमा बाढी पसेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानसँग छैन ।

अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयले जैविक तटबन्धको काम सुरु गरेका छन् । स्थानीय बस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा उनीहरु लागेका हुन । नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौँ बिघा बगरमा परिणत भइसकेको छ । बर्सेनि नदीले कटान गर्न थलेपछी जङ्गलको क्षेत्र खुम्चिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ ।

‘नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएको छ ।’ सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भने, ‘गौरवको आयोजनाको लापर्बाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौँ बिघा जङ्गल बगर बनिसकेको छ । गत वर्ष कात्तिकमा टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्दा ठूलो धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =