‘इगो’ले अप्ठ्यारो : चुनावसम्म समाजवादी केन्द्र नबन्ने ?

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरूले वाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाएका थिए । तर, तिनै पार्टीका नेताहरूकाअनुसार आगामी चुनावमै वाम समाजवादी मोर्चाको सम्भावना क्षीण भएको छ । नेताहरू अब छुट्टाछुट्टै दलकै रूपमा रहेर गठबन्धनमार्फत् चुनाव लड्ने तयारीमा जुटेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रष्टै भन्छन्, ‘आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन ।’ अहिले भइरहेको पाँचदलीय गठबन्धनभन्दा भित्र या बाहिर अर्को गठबन्धन नबन्ने उनको भनाइ रहेको छ ।
प्रेस सेन्टर नेपाल मकवानपुरले बुधबार हेटौँडामा मन्त्री पौडेलसँग पत्रकार भेटघाट कार्यक्रम राखेको थियो । जसलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्मको सङ्घर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि यो गठबन्धन बनेको हुँदा आउँदो चुनावसम्म यो गठबन्धनबाट दायाँबायाँ भइँदैन ।’
गठबन्धनमा रहेको र वाम समाजवादी मोर्चाको बहसमा केन्द्रित भएको एकीकृत समाजवादीले त एक्लै घोषणापत्र निर्माण जुटेको छ । घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गङ्गालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी नै दिइएको छ । सङ्घ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।
महासचिव बेदुराम भुसालकाअनुसार उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी उनैलाई दिइएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहासचिव गङ्गालाल तुलाधरले पाएका छन् । निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागले पाएको छ । महासचिव बेदुराम भुसाल भन्छन्, ‘गठबन्धनमा रहेर चुनाव लड्ने कुरामा दायाँबायाँ हुँदैन । त्यसैअनुसार पार्टी सम्पूर्णरूपले आन्तरिक तयारीमा जुटेको छ । आवश्यक संरचनाहरू बनेका छन् ।
पाँचदलीय सत्ता गठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरूले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावअगाडि समेत छलफल चलेको थियो । आसन्न प्रदेश र सङ्घीय चुनावका सन्दर्भमा पनि यो विषयमा छलफल चलाए । तर, सबै दलहरूलाई आफ्नो पार्टीको चुनाव चिह्न जोगाउनुपर्ने जस्ता विषयमा अडिग रहे । कुरा नमिल्दा छुट्टाछुट्टै दलका रूपमा रहेर गठबन्धनमार्फत् चुनाव लड्ने तयारीमा जुटेका हुन् ।
उसाे त यसअघि नै पनि शीर्षस्थ नेताहरू समाजवादी केन्द्र निर्माणकाे प्रक्रियामा जुटेका थिए । तर, ‘इगाे’कै कारण उनीहरूले संगठनलाई आकार दिन सकेनन् । यसबखत उनीहरू यथास्थितिबाटै आसन्न निर्वाचनमा हाेमिने तयारीमा देखिन्छन् ।








