बजारमा म्याद गुज्रेका अखाद्य वस्तु र कुहिएको मासु भेटियो

विराटनगर । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्त रूपमा अनुगमन थालेको हो ।

धरान वडा नम्बर ३ को माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन भएको हो । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरिएको बताए ।

इलाका प्रशासन कार्यालय,  धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालय सहितको संयुक्त सन्देशमूलक अनुगमन सुरु गरिएको जानकारी दिए ।  उनले आज पनि किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको भेटिएको बताए । उक्त म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाइएको उनको भनाई छ।

अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाइए प्रचलित कानुन अनुसार   कारबाही गरिने उनले बताए । यस्तै मोरङमा पनि बजार अनुगमन गरिएको छ।  इलाका प्रशासन कार्यालय रंगेलीको अगुवाइमा मोरङको रंगेली बजारको अनुगमन गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा बजारमा म्याद गुज्रिएका र सडेगलेका सामाग्रीलाई जफत गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *