वर्षमा एक सय १७ प्रतिशतसम्म मूल्य वृद्धि हुँदा पनि सरकारको ध्यान गएन : सांसद भट्टराई

काठमाडाैँ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान जान नसकेको बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको बिशेष समयमा उनले एक वर्षमा एक सय १७ प्रतिशतसम्म मूल्य वृद्धि हुँदा पनि सरकारको ध्यान जान नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगर्दा मूल्यवृद्धि नियन्त्रण हुन नसकेको उनकाे भनाई छ ।
उनले जनताले उपभोग गर्ने खाद्यान्नमा मूल्यवृद्धिले ढाड सेकिएको र जनतामा गरिबी बढ्दा विभिन्न आपराधिक गतिविधि बढेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले आगामी चुनाव र त्यसको तयारी धाँधलीरहित बनाउन आग्रह गरे । उनले गठबन्धनको ध्यान सत्ता जोगाउन मात्र केन्द्रीत भएको आरोप लगाए ।
त्यस्तै सांसद प्रकाश पन्थले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन लगायतका महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताए । राजनीति र व्यवस्थामा स्थिरता भयो भने शान्ति सुव्यवस्था र विकास हुनेतर्फ ध्यान दिँदै त्यही अनुसार अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनकाे भनाई छ ।
त्यस्तै सांसद जितेन्द्रनारायण देवले सरकारले युगान्तकारी कामहरु गरेको स्मरण गर्दै प्रतिपक्षी दल रचनात्मक हुनुपर्नेमा नकारात्मकवादको सिकार भइरहेको बताए । उनले नयाँ ढङ्गको राजनीतिक संस्कारको जरुरी रहेको पनि बताए ।
सांसद सुरेश आलेमगरले जनताको माग र पहिचानका आधारमा प्रदेश १ को नामकरण गर्न माग गरे । बैठकमा कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते बोलाइएको छ ।








