पोखरामा कहाँबाट हुन्छ उडान ? मन्त्री श्रेष्ठ भन्छन् : ‘टुंगो छैन’

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले क्यालिब्रेसन फ्लाइटको टुंगो लागेपछि मात्रै अन्तराष्ट्रिय जहाज कम्पनीसँग उडानका लागि छलफल हुने बताएका छन् ।
आन्तरिक तयारी विना नै पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालन गर्न लागेको पत्रकारको प्रश्नमा उनले भने, ‘जहाज कम्पनीसँग छलफल गर्नका लागि पनि विमानस्थल सन्चालनको निर्णय गर्नुपर्ने थियो । उडान रुट र जहाज कम्पनीसँग अव छलफल अघि बढ्छ ।’
विमानस्थलको ९८ प्रतिशत निर्माण सकिएको छ । जनवरी १ बाट सन्चालनमा ल्याउने औपचारिक निर्णय सरकारले गरिसकेको छ । तर विमानस्थल सन्चालनअघि पोखराको ल्याण्डफिल साइट हटाउनुपर्ने र रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने पहिलो शर्त छ । यसको तयारी धेरै अघिदेखि गरेपनि काम हुन सकेको छैन ।
मन्त्री श्रेष्ठले दुवै काम सँगै हुने र विमानस्थल सन्चालनमा कुनै अवरोध नरहने गरी काम सक्ने बताए । ‘रिठ्ठेपानीको डाँडा कटान र ल्याण्डफिल साइट सार्न विशेष पहल भएको छ । महानगरसँग पटक पटक बैठक भएको छ । महानगरले प्रतिबद्धता जनाएको छ,’ उनले अघि भने, ‘एयरपोर्ट समयमै सन्चालन गर्न कुनै अवरोध हुने छैन । यो एयरपोर्ट गण्डकी प्रदेशको पर्यटन विकासका लागि महत्वपूर्ण हुनेछ ।’
नयाँ एयरपोर्ट सन्चालनपछि चलिरहेको एयरपोर्ट भने के गर्ने निर्णय सरकारले गरेको छैन । यद्यपी पोखरेलीहरुले यसलाई खुला छोड्नुपर्ने आवाज उठाएका छन् । मन्त्री श्रेष्ठले प्राविधिक टोलीसँग छलफल गरेर नै निर्णयमा पुग्ने बताए । ‘नयाँ एयरपोर्ट चलेपछि के गर्ने भन्ने निर्णय भैसकेको छैन । क्यानको बैठकमा छलफलमै आएको छैन । निर्णय पनि भएको छैन । अहिले के गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘प्राविधिक र विज्ञसँग छलफल पछि टुंगो लाग्छ ।’
एयरपोर्ट अगाडी कर्मचारी आवास बनाउनका लागि बजेट नै विनियोजन भएको छ ।
पूरानो एयरपोर्टको प्रयोजनबारे अध्ययन गर्न सरकारले २० लाख छुट्याएको छ । प्याराग्लाइडिङ भने अहिले नै विस्थापन गर्ने पक्षमा आफुहरु नरहेको उनले सुनाए । ‘प्याराग्लाइडिङ ब्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्राण्डिङ हो, संरक्षण गर्नुप¥यो भनेर माग गर्नुभएको छ,’ श्रेष्ठ भन्छन्, ‘अन्तराष्ट्रिय विमानस्थल पनि यहाँकै माग अनुसार बनेको हो । यो बनेपछि सुरक्षामा असर नपर्ने गरी यो व्यवसाय कायम गर्ने स्थिति भए जोगाउनुपर्छ । यसका लागि थप छलफल गर्छौं । प्राविधिक दृष्टिकोणबाट छलफल गर्छौं ।’








