मोरङको चुनावी चर्चा, पुरानै अनुहार मैदानमा

विराटनगर । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिर ४ लाई तोकेसँगै दलहरूले आन्तरिक गृहकार्यलाई तीव्र बनाएका छन् । पाँच दलीय गठबन्धन एकातिर एमाले एक्लै अर्को तिर चुनावको तयारीमा देखिन्छन् ।

पाँच दलले एमालेलाई घुँडा टेकाउने तयारी गरिइरहँदा नेकपा एमाले एक्लैपनि आफ्नो आन्तरिक तयारीमा जुटेको छ । ६ वटा सङ्घीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा एमालेले कसलाई उम्मेदवार बनाउला भन्नेमा लेखाजोखा शुरु भएको छ । देश नै गठबन्धनमा गएको अवस्थामा एमाले र केही छिटफुट साना दल तथा स्वतन्त्र एक्लै चुनावी मैदानमा जाने देखिएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एउटा गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने यी दलहरूले मुख्य प्रतिस्पर्धी एमालेलाई बनाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएर पार्टी एकीकरणसम्मको अवस्थामा जानेगरि चुनावी तालमेल भएको थियो । त्यही तालमेलका आधारमा मोरङमा नेकपा एमालेले क्षेत्र नम्बर १, ३ र ६ निर्वाचन क्षेत्र जितको थियो भने नेकपा माओवादी केन्द्रले दुई वटा क्षेत्र नम्बर ४ र ५ मा जितेको थियो । नेपाली काँग्रेसले क्षेत्र नम्बर २ मा मात्र जितेको थियो ।

त्यो बेलाको निर्वाचनबाट हार ब्यहोरेका मात्र हैनन् निर्वाचित भएकाहरू आगामी मङ्सिरमा हुने निर्वाचनका उम्मेदवारको रूपमा देखिँदैछन् । यस अघिको निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका अनुहार नै यो पटकको निर्वाचनका प्रतिस्पर्धी हुने अनुमान गर्न थालिएको छ । गठबन्धनलाई जित्नका लागि एमालेले आफ्नो उम्मेदवार कस्तो बनाउने भन्ने रणनीतिमा देखिएको छ। गठबन्धन भित्रपनि मोरङ जिल्लाको टिकट वितरण तथा उम्मेदवार छनौटमा निक्कै सकस हुने देखिएको छ ।

कसलाई उम्मेदवार उठाउँदा चुनाव जित्न सकिन्छ भन्नेमा आन्तरिक गृहकार्य गरेर मात्र उम्मेदवार टुङ्गो लगाउने तयारीमा एमाले छ । पछिल्लो चर्चामा आएको नामहरूमा सङ्घीय सांसदहरूमा पहिला उम्मेदवार भएका व्यक्तिहरू नै दोहोरिने सम्भावना एमाले, काँग्रेस र माओवादीमा देखिएको छ।

यी हुन् चर्चामा आएका नाम
२०७४ सालको निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले नेपाली कांग्रेसका डिगबहादुर लिम्बुलाई पराजित गरेका थिए । आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पनि उनीहरूको बिचमा नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा मिनेन्द्र रिजालले नेकपा एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेकोमा यो पटक पनि यी दुई नेताको बिचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले नेपाली कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए । यो निर्वाचन क्षेत्रमा एमालेले ढकाललाई नै उठाउने तयारी गरेको छ भने गठबन्धन भएको कारण यो क्षेत्र नेकपा एकीकृत समाजवादीलाई दिने वा काँग्रेसले नै लिएर सुनिल शर्मालाई उम्मेदवार बनाउने भन्ने टुङ्गिएको छैन ।

क्षेत्र नम्बर ४ मा नेकपा माओवादीबाट अमनलाल मोदीले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए । यो क्षेत्रमा नेकपा एमालेले विनोद ढकाललाई उठाउने तयारी गरेको छ । गठबन्धनको तर्फबाट नेपाली काँग्रेस वा नेकपा माओवादी कसले लिने भन्ने टुङ्गो छैन ।

माओवादीबाट पराजित भएका महेश आचार्यको निर्वाचन क्षेत्र भनेर चिनिएको यो क्षेत्रलाई मेयरको प्रतिस्पर्धामा रहेर टिकट नपाएपछि ब्याक भएका नेपाली कांग्रेसका भीम पराजुलीले पनि यही क्षेत्र ताकेका छन् । क्षेत्र नम्बर ५ मा यस अघि अमृत अर्याललाई हराएर माओवादीबाट निर्वाचित भएका शिवकुमार मण्डल यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको बताइन्छ ।

यही निर्वाचन क्षेत्रबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार हुने चर्चा छ । गठबन्धन हुँदा यो निर्वाचन क्षेत्रमा यादव आउने बताइएको छ। उनी आउँदा यहाँबाट उम्मेदवार हुन चाहेका शिवकुमार मण्डल, अमृत अर्याल रिङ आउट हुने बताइन्छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले योगेन्द्र मण्डललाई ईन्ट्री गराउँदैछ ।

अर्को चर्चामा रहेको क्षेत्र नम्बर ६ हो । यो निर्वाचन क्षेत्रमा अहिलेसम्म पहिलाकै प्रतिस्पर्धी दोहोरिने करिब निश्चित जस्तै छ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरेका एमालेका लालबाबु पण्डित आगामी निर्वाचनमा पनि प्रतिस्पर्धाको तयारीमा छन् ।

पछिल्लो स्थानीय तहको मत परिणाम अनुसार नेकपा एमाले एक्लैले ४ वटा निर्वाचन क्षेत्र जित्ने आकलन गरेको छ भने अन्य दुई क्षेत्रमा पनि जित्ने दाबी एमालेले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *