दलहरूलाई चुनावी चटारो, मोरङमा एमालेले थाल्यो चुनावी अभियान

विराटनगर । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिर ४ लाई तोकेसँगै दलहरूले आन्तरिक गृहकार्यलाई तीव्र बनाएका छन् । पाँच दलीय गठबन्धन एकातिर एमाले एक्लै अर्को तिर चुनावको तयारीमा देखिन्छन् ।

पाँच दलले एमालेलाई घुँडा टेकाउने तयारी गरिरहँदा नेकपा एमाले एक्लै पनि आफ्नो आन्तरिक तयारीमा जुटेको छ । सोमबार मात्र मोरङको विराटचोकमा कार्यकर्ता प्रशिक्षण गरेको नेकपा एमालेले कुन निर्वाचन क्षेत्रमा कस्ता उम्मेदवार उठाउने भन्ने बारेमा कुनै निर्णय लिई सकेको छैन ।

चुनावी तयारीलाई आन्तरिक रूपमा तीव्र पारिएको एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार नेकपा एमाले मोरङले भदौ मसान्तसम्म सङ्गठनको व्यवस्थापन र आन्तरिक तयारी, स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनको पूर्व समीक्षा सहितको तयारी राखिएको छ ।

पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोखरेको संयोजकत्वमा बनेको तीन सदस्य समितिले स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरीलाई सुधार तथा पार्टी विपरीतका गतिविधि गर्नेलाई कारबाही गर्ने तयारी पनि एमालेको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा स्थानीय तहको कमिटी, शाखा र पार्टी सदस्यहरूले लिखित रूपमा प्रमाण सहित आएका निवेदन उपर कारबाही गरी दोषी पाइए जो कोहीलाई दण्डित गरिने पनि एमालेले जनाएको छ ।

‘साउन र भदौ महिना सङ्गठन तथा जनसङ्गठन कमिटीहरू व्यवस्थापनको काम सक्ने तयारी छ, पोखरेलले भने, त्यति बेलासम्म सबै कमिटी र पार्टी सदस्यलाई प्रशिक्षण दिई सक्नेगरी तालिका बनाइएको छ ।’

एमालेले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई पनि कारबाही गर्ने भएको छ । पार्टीको आन्तरिक तयारी अनुसार असोजको पहिलो हप्ता भित्र उम्मेदवार छनोट बारेमा स्थानीय तह र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएको सुझावको आधारमा उम्मेदवार सिफारिस गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *