दलहरू आफ्नो अडानबाट पछि नहट्दा प्रदेश १ ले पाएन नाम

विराटनगर । प्रदेश १ को नाम ल्याउन प्रदेश सभा असफल हुने सम्भावना बढेर गएको छ। मङ्गलवार बिहान प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले सामाजिक सञ्जालमा नामका सन्दर्भमा ‘कोसी’ तर्न हुन्न भन्ने एउटा राजनैतिक दलको हठले प्रदेशको नाम लगभग टरेर गएको बताएका छन् ।

‘समय घर्किएको छ तर अझै सिद्धिइसकेको छैन, उनले लेखेका छन्, तपाईंहरूको थोरै लचकताले राजनैतिक पार्टीहरू, नेताहरू, मन्त्री वा सांसदहरूले अनपेक्षित अपजसबाट छुटकारा पाउन सक्छ,सकिन्छ।’ मन्त्री राईले यो हाम्रो गौरवशाली जमिनमा कोसी मात्र होइन, हजारौँ वर्ष अघि देखिको सभ्यता, संस्कृति र विश्व प्रसिद्ध भूगोलहरू पनि रहेको उल्लेख गरेका छन् ।

सामाजिक विकास मन्त्री राईको भनाइलाई पुष्टि गर्नेगरि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ को नामारकणको विषय नयाँ जनादेशलाई छाडेर जाने अवस्था आएको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा संसदीय पत्रकार मञ्च प्रदेश १ को टोलीसँग कुरा गर्दै उनले कुनै चमत्कार भयो भने मात्र नामा आउने अन्यथा नामकरणको विषय टरेर गएको बताएका हुन् ।

पछिल्लो समय दलहरूको संवादहीनताको अवस्थाले पनि प्रदेश १ को प्रदेश सभाले नाम दिन नसक्ने अवस्था आएको बताए । ‘आ–आफ्नो अडानबाट दलहरू दायाँ बायाँ गर्न सक्ने अवस्थामा रहेनन्, उनले भने, दलहरू बिचको संवादहीनता र असमझदारीले नाम आएन ।’

पहिलो प्रदेश सभाले प्रदेश १ को नाम दिन नसकेको बारेमा मन्त्री आङ्बोले त्यसको जस अपजस दलहरूले नै लिनु पर्ने बताए । ‘प्रदेश सरकारको पहिलो ५ वर्षमा धेरै गर्न नसकिएका कामहरू मध्ये एउटा नामकरण पनि हो, उनले भने, तत्कालीन अवस्थामा कुनै पनि दल जोखिम लिन चाहेका छैनन् ।’

प्रदेशको नाम राख्ने बारेमा दलहरू आफ्नो अडानबाट फेरबदल गर्न नचाहँदा यो सभाबाट नाम आउने सम्भावना सकिएको मन्त्री आङ्बोको भनाई छ। अब दलहरूले एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर जान भन्दा पनि यस नामकरणको विषय नयाँ जनादेशलाई छाडेर जाने भन्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया

One thought on “दलहरू आफ्नो अडानबाट पछि नहट्दा प्रदेश १ ले पाएन नाम

  1. 5 years samma pradesh ko naam rakhna nasakne party ra netaa harule janata ko utthan ra deshko bikas garchhan vanne sochaai rakhnu bandar haatma nariwal jastai ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *