डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा

काठमाडाैँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको हाे ।

एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर ‘एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ उल्लेख गरेका छन् । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ । ‘यो हाम्रो देशको लागि कालो समय हो,’ ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन् । आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको”उल्लेख गरे ।

ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । ‘यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ,’ ट्रम्पले भनेका छन्, ‘दु:खको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ ।’

सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ । स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन् ।

किन मारियो छापा
अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो । अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *