मंसिर ४ : चितवनमा सत्तारूढ गठबन्धनबिच भागबण्डाको रस्साकस्सी !

चितवन । चितवनमा सत्तारुढ गठबन्धनबिच भागबण्डाको रस्साकस्सी चल्न सुरु भएको छ । आगामी मङ्सिर ४ गते सरकारले निर्वाचन घोषणा गरिसकेको छ ।

पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि चितवनमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा चर्चा परिचर्चा हुन थालेको छ ।

सत्तारुढ गठबन्धनले साउन मसान्तभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल पनि बनाएसँगै जिल्लामा पार्टीहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा माओवादी केन्द्र चितवनको आज विस्तारित समितिको बैठक बसेर कोहीसँग नझुकी आफ्नो स्पष्ट अडान लिने निर्णय गरेको छ ।

चितवनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले सिटमा दाबी गर्न थालिसकेका छन् भने जनता समाजवादी र जनमोर्चाले खासै दाबी गरेको सुनिएको छैन ।

चितवन क्षेत्र नम्बर ३ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र भएकाले माओवादी केन्द्र चितवनले यसमा आफ्नो दाबी रहने जनाएको छ । माओवादी केन्द्र चितवनका एक नेताका अनुसार चितवन क्षेत्र नम्बर ३ बाट अध्यक्ष प्रचण्डको क्षेत्र हो, यसअघि पनि उहाँले यस क्षेत्रबाट जित्नुभएको हो, त्यसैले ३ नम्बर क्षेत्रमा हाम्रो दाबी रहनेमा कुनै शङ्का नै छैन, स्वतः माओवादी केन्द्रका हुन्छ ।’

नेपाली काँग्रेसले चितवनको कूल सिटमध्ये ७० प्रतिशतमा आफ्नो दाबी रहने जनाएको छ । नेपाली कांग्रेसका निवर्तमान चितवन सभापति जितनारायण श्रेष्ठले चितवनको नौ वटा सिटमध्ये नेपाली काँग्रेस चितवनले सङ्घीयतर्फ दुई र प्रदेशतर्फ ४ गरी ६ सिटमा दाबी रहने बताए ।

चितवनमा तीन सङ्घीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा रहेका छन् । चितवनमा जम्मा ९ सिट छ । उनले भने, ‘सङ्घीयतर्फ काँग्रेसले क्षेत्र नम्बर १ र २ गरेर दुई निर्वाचन क्षेत्रमा दाबी गर्छ, प्रदेश तर्फ ४ वटामा दाबी रहन्छ । चितवनको क्षेत्र २ को (क) वा (ख) एउटामा दाबी रहन्छ । ३ नम्बरको दुवै प्रदेशमा दाबी रहन्छ, १ को (ख) मा दाबी रहन्छ ।’

नेकपा माओवादी केन्द्रले आफ्नो दाबी चितवनको क्षेत्र ३ मा हुने बताइरहेको छ । अध्यक्ष प्रचण्ड नै चुनाव लड्न आउने भएकाले चितवन क्षेत्र नं ३ नछोड्ने नेकपा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ले बताए ।

माओवादीले प्रदेश तर्फ २ सिटमा दाबी गर्ने उनको भनाई छ । उनले प्रदेश तर्फ ३ नम्बर क्षेत्रको (क) मा र २ नम्बर क्षेत्रको पनि (क) मा नै दाबी रहने बताए । त्यस बाहेकका अन्यमा गठबन्धनका अरू दललाई माओवादी केन्द्रले सहयोग गर्ने सापकोटाको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका चितवन जिल्ला अध्यक्ष डा कृष्ण पन्तले यसअघि एमालेले जितेको क्षेत्रमा समाजवादीको दाबी रहने बताए । उनले समाजवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आफूहरू प्रति गठबन्धन इमानदार भएन भने, त्यसको बदलामा काँग्रेस र माओवादीलाई नै क्षति हुने बताए । उनले भने, ‘हामी क्षेत्र नम्बर १ दाबी गएका छौँ प्रदेशतर्फ २ सिट दाबी गर्नेछौँ, अहिले नै प्रदेशतर्फ कुन दाबी गर्ने निर्णय भैसकेको छैन तर, २ सिटमा दाबी रहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *