ओलीकाे टिप्पणी : ‘प्रचण्ड-माधव कांग्रेस नामकाे बञ्चराेका बिँड हुन्, यिनीहरूले कम्युनिष्ट आन्दाेलन ढाल्छन्’

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमालेले राम्राे काम गरेकाले सरकारबाट हटाइएकाे टिप्पणी गरेका छन् । आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘एमालेले विगतमा राम्राे काम गर्‍याे । त्याे भएर सरकारबाट हटाइयाे । अदालत गएर जालझेल गरेर सरकार फेरियाे, एमालेलाई सरकारबाट हटाइयाे ।’

उनले वर्तमान गठबन्धन सरकारलाई ‘नक्कली सरकार’काे संज्ञा दिए । ‘अहिले नक्कली सरकार बनाइएकाे छ । यसकाे उद्देश्य भनेकाे फेरिएकाे छैन, त्यही जालझेल हाे,’ उनले भनेका छन् ।

उनले आउँदाे निर्वाचनमा एमालेले देशलाई बर्बाद हुनबाट जाेगाउने बताएका छन् । त्यसका लागि जनतालाई सही कुरा सम्झाउनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘एमालेलाई जित्नका लागि जित्नुपर्ने हाेइन । देश जाेगाउनका लागि एमालेबाहेक अरुकाे शक्ति पुग्दैन । एमालेले मात्रै देश जाेगाउन सक्छ, त्यसका लागि आउँदाे सरकार एमालेले बनाउनुपर्छ । एमालेले जित्याे भने देश डुब्दैन । एमालेले आउँदाे निर्वाचनबाट देश जाेगाउन लागिपर्छ । आगामी चुनावमा हामीले जित्नैपर्छ । त्यसका लागि जनतामा जानैपर्छ ।’

उनले गठबन्धनका शीर्षस्थ नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘कांग्रेस नामका बञ्चराेका बिँड’ भएकाे टिप्पणी गरेका छन् । ‘माधव नेपाल र प्रचण्ड कांग्रेस नामका बञ्चराेकाे बिँड हुन् । यिनीहरूले कम्युनिष्ट आन्दाेलन ढाल्न सक्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *