काठमाडाैँमा पुनः ‘नाे हर्न’ सुरु, अत्यावश्यक बाहेक हर्न बजाए कारबाही

काठमाडौँ । उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालचन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरूमा सचेतना फैलाउनका लागि आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए ।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

कार्यक्रम रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट सुरुवात भएको थियो साथै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलेन्टियर र पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्दयार्थीहरुले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनहरूमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए ।

उक्त कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसी स्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *