नेवि संघद्वारा त्रिवि सेवा आयोगमा गरिएको तालाबन्दी स्थगन

काठमाडौँ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सेवा आयोगमा गरिएको तालाबन्दी स्थगन गरेको छ । बदनियतका साथ त्रिवि सेवा आयोग अध्यक्षले आफ्नो पदावधि सकिने दिनमा गर्न खोजेको कथित अन्तर्वार्ता परीक्षा स्थगनसँगै नेवि संघले तालाबन्दी हाललाई स्थगन गरेको हो ।

आमुख राजनीतिक पार्टीका कार्यकर्ता सेवा आयोगमार्फत भर्ती गर्ने कु-कार्य नेवि संघको आन्दोलनका कारण रोकिएको नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘हालै सेवा आयोग अध्यक्षको पदावधि सकिएका प्राडा. लालुप्रसाद पौडेलले आफ्नो पदावधि सकिने दिनमा कथित अन्तर्वार्ता नाटक मञ्चन गरी व्यक्तिगत तथा केही आमुख राजनीतिक पार्टीका कार्यकर्ता सेवा आयोग मार्फत भर्ती गरी आफ्नो अभीष्ट पूरा गर्ने कु-कार्य नेपाल विद्यार्थी संघको आन्दोलनका कारण स्थगन भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत आन्दोलन फिर्ता गरी सेवा आयोगको कार्यालयमा गरिएको तालाबन्दी तत्काललाई स्थगन गरिएको जानकारी दिइएको छ । अगाडि भनिएको छ, ‘सेवा आयोगको निष्पक्षतालाई पदको दुरुपयोग गरी धमिल्याउने कु-चेष्टालाई रोक्न आन्दोलनको अग्रमोर्चामा उत्रनु भएका तपाई सम्पूर्ण लोकतन्त्रवादी युवा विद्यार्थी साथीहरू, प्राध्यापक सरहरू, पत्रकार बन्धुहरू, सुरक्षाकर्मी मित्रहरू लगायत सम्पूर्णलाई विशेष धन्यवाद दिँदै परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पदनै रिक्त रहेको वर्तमान अवस्थामा पदपूर्ति नहुन्जेल सम्मको लागि नेपाल विद्यार्थी संघ त्रिवि समितिको सम्पूर्ण आन्दोलन फिर्ता गरी सेवा आयोगको कार्यालयमा गरिएको तालाबन्दी तत्काललाई स्थगन गरिएको जानकारी गराउँदछौ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *