पप्पु कन्स्ट्रक्सनले दिएको सास्ती : परराष्ट्रमन्त्रीकै क्षेत्रमा आठ वर्षदेखि पुल अलपत्र

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेकी हेमकुमारी धामी बिहीबार दिउँसो गिदनी खोला तर्दै थिइन् । कम्मर–कम्मर आउने पानी छिचोल्दै सतापत्रे आफ्नो घर तर्फ आउँदै थिइन् उनी । खोलापारी रहेको खेतमा धान गोड्न गएकी धामीलाई खोला वारपार गर्न निक्कै चिन्ता छ । कतिबेला खोला बढेर आउने लग्ने हो भन्ने पिरले वर्षौंदेखि सताउँदै आएको छ ।

उनी हरेक दिन गिदनी खोला र मुर्तिया खोलाको त्यही दोभानमा बन्दै गरेको पक्की पुलको पिलर हेर्छिन् र सरकारलाई गाली गर्दै वारपार गर्छिन् । आज बनाउँछु भन्यो भोलि बनाउँछु भन्यो पुल बन्न नसकेको ८ वर्ष भइसक्यो तर धामीको ओहोरदोहोरले त्यो पुल निर्माण गर्ने ठेकेदार र सरकारलाई गिज्याई रहेको छ ।

खेतबाट फर्किँदै गरेकी उनी खोला तर्दै गर्दा खोलाको पानी धमिलो देख्दा झस्किँदै थिइन् । ‘खोलाको शिरमा पानी परेर धमिलो भएको होला बाढी त आइनहाल्ला’, उनले भनिन्, ‘कम्ता गाह्रो छ हामीलाई पानी, बाढी आउँछ, दिनभरि उतै बस्नुपर्छ ।’ खोलाको बाढी नघट्दासम्म वारीको वारी, पारीको पारी नै बस्नु पर्छ ।

खोला बाढी घटेपछि मात्र वारपार गर्न सकिन्छ नत्र त भोकै बस्नु पर्ने बाध्यता रहेको उनले बताइन् । खेतमा भएको बेला घरमा फर्किने अवस्था हुँदैन भने घरमा रहेकाहरूलाई खेतमा भएका परिवारको अवस्थाको थाहै हुँदैन । ‘खाजा पुर्‍याउने, भात पुर्‍याउन खेतमा गएका मानिसहरू उताको उतै ज्युँदो छ की मर्‍यो पत्तो हुँदैन थियो’, उनले भनिन्, ‘हामीलाई कम्ता गाह्रो छैन ।’

उनीहरू ओहोरदोहोर गर्ने पुल बन्न थालेको ८ वर्ष पुगिसक्दा पनि बनेको छैन । ‘बन्दैन कसैले भन्दैन’, उनले भनिन्, ‘हाम्रो सास्तीलाई कसैले सुन्दैन, जो आएपनि हुन्छ पुल बन्छ भन्न छाडेका छैनन् ।’

यो समस्या हेमकुमारी धामीको मात्र हैन, सातपत्रेवासी सहित आधा दर्जन गाउँको सिङ्गो समस्या हो । सातेपत्रेवासीको सबैको खेत गिदेरी खोलापारि छ भने खोला वारि बस्ती र बसोबास छ । यो पुल उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको चतरा हुँदै धरानसम्म आवतजावतका निर्माण थालिएको थियो ।

निर्माण थालेको लामो समयसम्म पनि बन्न नसकेको यो पुलको तत्कालीन आवश्यकता सातपत्रेवासीलाई रहेको सातपत्रेका विनोद चौधरीले बताए । ‘बाढी आउँदा कोही तर्न सक्दैन’, उनले भने, ‘कहिलेकाहीँ त २–३ दिनसम्म उतै अड्किने गरेको छ ।’ हरेक पटक भोट माग्न जाने मन्त्रीहरू त्यही पुललाई देखाएर भोट माग्न आउने गरेको स्थानीय बताउँछन् । खोलाको तटबन्ध र पुल निर्माणको आश्वास आगामी मङ्सिर ४ गतेको निर्वाचनमा फेरी हुने चौधरीको गुनासो छ ।

स्थानीय तहको निर्वाचनताका पनि परराष्ट्र मन्त्री डा. नारायण खड्का सातपत्रे पुगेर असार भित्रमा पुल बनाउँछु भन्दै फर्किएका थिए तर एउटा पिर्को काम पनि नभएको विनोदको भनाई छ । ‘कहिले बाँध बनाउँछौँ भनेर काम नभएको हो भने कहिले बाटो नभएको भनेर काम रोकेको कारण यतिका वर्ष हुँदा पनि पुल बनेन’, उनले भने, ‘यो वर्ष पनि पूरा गर्छु भनेका छन् बनाउने हुन् कि हैनन् थाहै छैन ।’

पुल नबन्दा सातपत्रे, भागलपुर, पुरन्दह, करैया, बेल्हा, गलफडियालगायत आधा दर्जन गाउँका बासिन्दाले सास्ती खेप्दै आएका छन् । नगरपालिकाको कार्यालयमा आउनको लागि पनि यो गाउँका नागरिकलाई निक्कै समस्या छ ।

वर्षाका बेला नगरपालिका जान तपेश्वरी हुँदै शनिबारे–सुपाडे–लालबजार–गुरुङ चौरीको ४० किलोमिटर यात्रा तय गर्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । पुल बने मात्र पनि १५ किलो मिटर हिँडेपछि आधा दर्जन गाउँका बासिन्दालाई नगरपालिका पुग्न सहज हुनेछ ।

किन बनेन पुल ?

बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बिचमा यो पुल बन्न थालेको छ । पुल बनाउन थालेको आठ वर्षमा पनि पुल बनेको छैन । चौथो पटक म्याद थप भइसक्दा पनि अहिलेसम्म पुलको पिलरको काम समेत सकिएको छैन ।

उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि भन्दै सरकारले आर्थिक वर्ष २०७०/०७१ मा पुल निर्माणको सम्झौता गरेको थियो । पप्पु कन्स्ट्रक्सन /मृत सञ्जीवनी जेभीले २०७४ असार मसान्तसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेका थिए ।

तोकिएको मितिमा ५ प्रतिशत पनि काम नसकिएपछि २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप गरेको थियो । सातवटा पिलर निर्माण गर्नु पर्नेमा ६ वटाको निर्माण पूरा गरेको भएपनि निर्माण सुरु गरेको ८ वर्षमा अझै एउटा पिलर निर्माणको काम खाल्टो खनेर बेस ढलान पछि छाडिएको छ ।

मन्त्री खड्काको तीन शिलान्यास

नेपाल सरकारका परराष्ट्र मन्त्री डा । नारायण खड्काले पुल तीनपटक शिलान्यास गरिसकेका छन् । योजना नै नपरी बजेट ल्याउने आश्वासन दिएर पहिलो पटक २०६४ सालमा शिलान्यास गरेको पुल योजना परेपछि २०६९ र २०७० सालमा शिलान्यास गरेको स्थानीय बताउँछन् ।

स्थानीय भने निर्माण कम्पनीको लापरबाहीको कारण ढिला भएको बताउँछन् । काममा गुणस्तरहीन भएपछि स्थानीयले गुणस्तरीय काम गर्न पनि भनेका थिए । पप्पु निर्माण कम्पनीले गुणस्तरहीन काम गरेर पुल निर्माण नै नगरी अलपत्र छाडेको स्थानीयको बुझाई छ ।

सडक डिभिजन कार्यालय लाहानका प्रमुख रामकुमार देवले यो वर्ष भित्र पुल निर्माणको काम पूरा हुने बताए । ‘केही प्राविधिक समस्याका कारण पुल निर्माणमा ढिला भएको थियो, उनले भने, अहिले त्यो प्राविधिक काम पूरा भएको छ यो वर्ष भित्र पुल निर्माणको काम सकिन्छ ।’ पुलको लागत अनुमान १३ करोड ३९ लाख गरिएको भएपनि करिब ९ करोडको सम्झौतामा काम अघि बढेको उनले जानकारी दिए ।

उनले सुरुमा पुलको काम सुरु गर्न त्यहाँसम्म सडक सुविधा नहुँदा समस्या भएको बताए । ‘सुरुमा त्यहाँ गाडी लग्नका लागि समस्या भएको थियो’, उनले भने, ‘पछि राम्रै काम भएको थियो, गत आर्थिक वर्षमा काम सकिनु पर्नेमा केही प्राविधिक रूपमा ड्रोईङ डिजाइन मिलाउनु पर्दा पूरा गर्न सकेनौँ ।’ उनले ठेक्का सम्झौता भएका बेलामा यो नयाँ प्रविधिको पुल भएको पनि बताए ।

उनले यो पुल नेपालमा नै नयाँ प्रविधिबाट प्रिएक्सेस डिजाइनको पुल सुरु हुँदै गर्दाको अवस्थामा बनाइएकोले अहिले फेरी डिजाइन फेर्नु परेको उनले स्वीकार गरे । डिजाइनलाई रिभ्यु गर्नु भनेर लगाएकोले एक वर्ष त्यसमा लागेको थियो त्यसको डिजाइनको काम सकेर प्रमाणीकरणको अन्तिम तयारी भएकोले अब बाँकी काम चाँडै सम्पन्न हुने उनको भनाई छ ।

पुल निर्माण सम्पन्न गर्न चौथो पटकसम्म म्याद थप भइसकेको ठेकेदार कम्पनीले अब फेरी एक वर्षको म्याद थप्ने तयारी भएको उनले बताए । ‘अब यही नै अन्तिम म्याद थप्ने समय हो’, उनले भने, ‘यो वर्ष जसरी पनि काम सक्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *