भरतपुर महानगरको प्रशासनिक भवनको ठेक्का सम्झौता, ७८ करोडको भवन ३० महिनामा सकिने

चितवन । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएको छ । शुक्रवार भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभीबिच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

लागत अनुमान रकम रु ७८ करोड ११ लाखमा ३२ दशमलव ४८ प्रतिशत न्यूनतम मूल्यमा शर्मा–सगरमाथा–सगुन जेभी ठेक्का पाएको हो । जेभीले मूल्य अभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्नेछ ।

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवन बनाउन लागिएको हो ।

सङ्घीय अर्थ मन्त्रालय, बागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चितता गरेर भवन निर्माण गर्न लागिएको प्रमुख दाहालले बताइन् ।

सङ्घीय सरकारबाट रु ३५ करोड, बागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित भएको छ । महानगरपालिकाको केन्द्रीकृत भवनबाट सहजरुपमा प्रदान हुने विश्वास महानगरपालिकाको छ । भवनको चैत ११ गते चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए ।

निर्माण कम्पनीका अनुसार अहिले वर्षाको समय भएकाले दसै–तिहार लगतै भवन निर्माणको काम सुरु हुने छ ।

६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डर ग्राउन्ड पार्किङ हुनेछ ।

भवनमा दुईवटा लिफ्ट, सांस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहनेछ । भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरू रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *