विराटनगरबाट प्रहरीले बरामद गरेको वस्तु युरेनियम नभएको पुष्टि

विराटनगर । विराटनगरबाट बरामद भएको वस्तु युरेनियम नभएको खुलेको छ । युरेनियमको आशङ्कामा प्रहरीले दुई किलोग्रामभन्दा बढी उक्त वस्तु बरामद गरेको हो । बिक्रीको तयारी हुँदै गर्दा प्रहरीले अलगअलग स्थानबाट बरामद गरेर खानी तथा भूगर्भ विभागमा परीक्षणका लागि पठाएको थियो ।

पठाइएको रिपोर्ट ‘नेगेटिभ’ आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागले उक्त वस्तु युरेनियम नभएको पुष्टि गर्दै रिपोर्ट उपलब्ध गराएको श्रेष्ठले बताए । युरेनियम भनेर बिक्री गर्न खोजिएको एक किलो ८७.३ ग्रामसहित प्रहरीले साउन १ गते विराटनगर महानगरपालिका–९ ट्राफिक चोकबाट आठ जनालाई पक्राउ गरेको थियो ।

साउन ३ गते विराटनगर–३ दूधफारम नजिकबाट नौ सय ७८।६ ग्रामसहित सात जनालाई पक्राउ गर्‍यो । डिएसपी श्रेष्ठका अनुसार विभागले युरेनियम हैन भनेको वस्तु के हो भनेर यकिन भएको छैन । ‘त्यो कहाँबाट ल्याइयो र केमा प्रयोग हुन्छ भन्ने पनि खुल्न बाँकी छ,’ उनले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णयसमेत भइसकेको छैन ।’

शङ्कास्पद वस्तुसहित विराटनगरका दुई ठाउँबाट पक्राउ परेका १५ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेको थियो । साउन १ गते पक्राउ परेका माथिको अनुसन्धान सकिएको र साउन ३ गते पक्राउ परेका विरुद्धको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान सकिएकाको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । वकिल कार्यालयले प्रहरी अनुसन्धानका आधारमा अभियोग पत्र तयार पारेर प्रतिवादीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने छ ।

भिन्दाभिन्दै ठाउँबाट पक्राउ परेकालाई युरेनियम भनेर उक्त वस्तु उपलब्ध गराउने व्यक्ति भने एकै जना रहेको प्रहरीको भनाइ छ । ती व्यक्ति भने अझैसम्म फरार रहेको र पक्राउ नपरेको श्रेष्ठले बताए । पक्राउ पर्नेहरू युरेनियम भनेर उक्त वस्तुलाई ग्राहकसम्म पुर्‍याउने भरिया मात्रै हुन् ।

बिक्रीका लागि भनेर भारतीय ग्राहकलाई बोलाइएका बेला उनीहरू पक्राउ परेका हुन् । किन्नका लागि ग्राहक पुग्न नपाउँदै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उक्त वस्तु युरेनियम नभएको पुष्टि भएकाले पक्राउ परेका विरुद्ध थप कारबाही अघि बढाउन नसकिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *