कांग्रेस र माओवादीबिच चुनावी तालमेल हुनु संविधान विपरीत : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधान विपरीत भएको बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शुक्रवार काठमाडौँमा गरेको साक्षात्कारमा उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरूबिच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबिच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधान विपरीत हुने बताएका हुन् ।
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए । रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउनुपर्नेमा जोड दिए ।
रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरूको सरुवा र केही महत्त्वपूर्ण नियुक्ति गरेको भन्दै विरोध जनाए । त्यस्तै रावलले निर्वाचनमा उम्मेदवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गरे ।
उनले हिन्द प्रशान्त क्षेत्रमा शक्ति राष्ट्रहरूको बिचमा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै ताइवानमा अमेरिकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको पनि बताए । त्यस्तै, रावलले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाइएकोमा आक्रोश व्यक्त गरे ।








