सप्तकोशी नदी प्रभावित ९ सय परिवारलाई सामुदायिक वन र विद्यालयमा सारियो

विराटनगर । उदयपुरको बेलका नगरपालिका–८ डुब्रिबोटेबाट धार परिवर्तन गरी पश्चिम तर्फ पसेपछि ९ सय परिवार विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीका अनुसार नदी धार परिवर्तन गरी गाउँ पसेपछि ९ सय परिवारका नागरिक विस्थापित भएका हुन्  ।
सप्तकोशी नदीले आज बिहान नदीको उच्च बाँध  कटान गरी सिसौली बस्तीमा पानी पसी डुबान शुरु भएको थियो ।
सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका–८ को सिसौली बस्ती र बेलाका नगरपालिका–३ को भाटेपुल बस्तीमा बाढी पसी डुबानबाट प्रभावित भएका छन् ।

प्रभावित ९ सय घर परिवारलाई बेलका नगरपालिका–९मा  रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक विद्यालयको भवनमा सारिएको प्रदेश १ प्रहरी कार्यालयका डिआईजी सुदिप गिरीले जानकारी दिए ।  ९ सय परिवारलाई सुरक्षित स्थानमा सारी सकिएको छ भने अन्यलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
डुबान क्षेत्रमा खटिएको नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुबानमा परेका स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गर्दै आएका छन् ।

डुबानबाट प्रभावित स्थानीयवासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण विराटनगरबाट  प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ  ।
डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार विकास मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्त्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका प्रमुख सेनानी, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले  सो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *