सप्तकोसीको कहर : स्थानीयलाई जोखिमपूर्ण स्थान छाड्न मुख्यमन्त्रीको आग्रह

विराटनगर । सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं. १ को सुनसरी वराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको सचिवालयद्वारा जारी गरिएको वक्तव्यमा मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् ।

उनले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं. १ सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री राई अहिले कोभिड–संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *