मिटर ब्याजी पीडित पुनः बसे धर्ना, सरकारले समस्या समाधान नगरेकाे गुनासाे

काठमाडौँ । नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरूले पुन माइतीघरमा धर्ना दिएका छन् ।
यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले पुनः काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् । सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूले जनाएका छन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिको अगुवाइमा भएका धर्नामा सहभागीहरूले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरूको समस्या समाधान हुन नसकेको बताए । जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनको भनाई छ ।
पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।








