७० वर्षपछि सप्तकोशीको धार परिवर्तन, ३० हजार स्थानीय जोखिममा

विराटनगर । सुनसरी र उदयपुरको बिच भएर बग्ने सप्तकोशी नदी पुरानै धारमा फर्किएको छ । ७० वर्ष पहिलाको अवस्थामा सप्तकोशी नदीले धार परिवर्तन गरेको हो । सप्तकोशी नदीले धार परिवर्तन गरेसँगै तीन जिल्लाका ५ पालिकाका जोखिममा परेका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट कटान गरी नदी पुरानै धारमा फर्किएपछि उदयपुर, सप्तरी र सुनसरीका पाँच पालिका जोखिममा परेको हो ।

केही दिन अघिदेखि नै कटान गर्दै आएको सप्तकोशीले बिहानदेखि धार परिवर्तन गरेर बेलका ८ डुम्रीबोटेबाट धार परिवर्तन गरेको हो । धार परिवर्तनसँगै बेलाकाको २, ३, ८ र ९ वडाका २ हजार ३ सय घर परिवार समस्यामा रहेको बेलका नगरपालिकाले जनाएको छ । सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बरका १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन् । शप्तकोशीको धार परिवर्तनसँगै सुनसरी र उदयपुरका ३० हजार बढी नागरिक जोखिममा परेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।

सप्तकोसी नदीले बुधबार बिहान ३ बजे धार परिवर्तन गरेसँगै त्यहाँ नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भएको छ। धार परिवर्तनले पश्चिम तर्फको सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरुप र कंकालनी, सुनसरीको बरहक्षेत्र नगरपालिकाका २ वटा वडा र बेलका नगरपालिकाका ४ वटा वडाका बासिन्दा खतरामा छन् ।

सप्तकोशीले धार परिवर्तन गरेर नदी गाउँ पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जयकुमार राईले जानकारी दिए । नदीले धार परिवर्तन गरेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली कटान क्षेत्रमा पुगेको सशस्त्र प्रहरी प्रदेश १ का डिआईजी कमल गिरीले जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको सतह धेरै रहेको कारण टापुका नागरिकलाई उद्धारमा समस्या देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *