अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चीनको चेतावनी

काठमाडौँ । अमेरिकी अधिकारीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएको छ । बर्न्सलाई बोलाएर सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे चीनले विरोध जनाएको हो ।
चिनियाँ उप-विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन् । उनले चीन चुप नबस्ने बताए ।
मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन् । उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ ।
अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ । उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।
पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन् । चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ । उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ ।
ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ ।








