आज नाग पञ्चमी : नागकाे पूजा गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइएको छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

नाग पञ्चमीको अवसरमा मंगलबार काठमाडौँको नाग पोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको थियो ।

विशेष गरी काठमाडौँको नागपोखरीमा विशेष मेला लागेको छ । यसअघि कोरोनाका कारण पूजाआजामा मात्र सीमित गरिएपछि यसबर्ष सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

नागका बाह्र नाम रहे पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी अष्ठनागको पूजा गर्ने चलन रहेको छ ।

ब्राह्मण पुरोहितहरूले यजमानका घरमा पुगेर विधिपूर्वक पूजाआजा गरी घरको ढोकामाथि टास्ने गर्दछन् । नागको पूजा गरेपछि खेत बारीमा खनजोत गर्न नहुने मान्यता पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.