खोलाहरुमा पानीको सतह बढेपछि सतर्क रहन भरतपुर महानगरको आग्रह

चितवन । विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणी नदी, राप्ती नदी र अन्य खोलाहरुको सतह वृद्धि भएको छ । पानीको सतह बढेकाले नदी तटिय क्षेत्रमा बसोबास गर्ने भरतपुर नगरवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वर्षाको क्रम बढ्दै गइरहेकाले नदी, खोला आसपासका क्षेत्रमा धनजनको क्षति हुन सक्ने, महानगरका अधिकांश वडाहरु डुवानमा पर्न सक्ने तथा वडा नं २९ मा पहिरोले नोक्सान पार्न सक्ने देखिएकाले स्थानीयलाई सजह र सर्तक रहन आग्रह गरिन्।
लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह पनि गरिन् ।
‘लगातार वर्षा भइरहेको छ । नदीको बहाव पनि बढिरहेको छ सम्पूर्ण सुरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको विपत व्यवस्थापन प्रतिकार्य इकाईलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्धारमा खटिन तयार रहनुस्’ महानगर प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
प्रमुख दाहालले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरिन् । प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिति, युवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिइन् ।
महानगरद्धारा जारी विज्ञप्तिमा जोखिम क्षेत्रमा बसोबास गर्ने नगरवासीहरुले विपद आइपरेमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीको सम्पर्क नम्बर ९८५५०५८०६६, आपतकालीन सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९८४४०२१०८१७ र नगर प्रहरी इन्चार्जको मोबाइल नम्बर ९८४९७०२२८४ मा सम्पर्क राख्न भनिएको छ ।








