निर्मला हत्याका ४ वर्ष : ११० जनाको डीएनए परीक्षण, ६३५ जनासँग सोधपुछ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो । दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन ११ ले भने दुर्गालाई झस्काइरहन्छ ।

१३ वर्षकी छोरी निर्मला पन्तको हत्या भएको बुधबार चार वर्ष बितेको छ । निर्मलाकी आमा दुर्गालाई भने अब न्याय पाउने आश छैन । ‘घरमा प्रहरी आउन छोडेको झण्डै वर्ष दिन भइसक्यो’, दुर्गाले भनिन्– ‘मैले पनि न्याय पाउने आश मारिसकें । त्यसैले मैले पनि जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकें ।’

हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिङ्गो परिवारले नै असुरक्षित महसुस गरिरहेको दुर्गाको भनाइ छ । ‘हत्यामा संग्लन भएकाहरू अझै पनि खुलेआम घुमिरहेका छन्’, उहाँले भने– ‘प्रहरीको नजरमा रहेका आरोपित पनि घर अगाडिकै बाटो भएर आउजाउ गर्छन् । नहुनुपर्ने घटना त भयो तर दोषी पक्राउ नगर्दा साह्रै असुरक्षित महसुस हुन्छ ।’

दुर्गा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखाममा रहेको घरमा दुई छोरीसँगै बस्छिन् । श्रीमान् यज्ञराज भने कान्छी श्रीमतीसँग छुट्टै बस्छिन् । दुर्गा भीमदत्त नगरपालिकाले दिएको घर नजिकैको स्वास्थ्य चौकीमा जागिर गर्छिन् ।

अघिल्लो वर्ष दुर्गालाई उल्टाखामस्थित घरमै भेट्दा उनमा न्याय पाउने झिनो आशा थियो । सोही समयमा पाँचौं पटक प्रधानमन्त्री भएका काँग्रेस सभापति शेरबहादुर देउवा र दुर्गाको पहाड घर डडेल्धुरा हो । ‘आफ्नै गाउँठाउँका प्रधानमन्त्री भएका रहेछन्’, ०७८ साउन पहिलो साता दुर्गाले भनकी थिइन् – ‘अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा ।’ निर्मलाको हत्या भएको सात महिनापछि घरमै पुगेर देउवाले दोषीलाई कानूनी दायरामा ल्याउने आश्वासन दिएका थिए । ०७५ साल फागुनमा उल्टाखामस्थित घरमै पुगेर देउवाले भनेका थिए– ‘नेपाली काँग्रेसले सुरुदेखि नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न दबाब दिँदै आइरहेको छ । हत्यारा पत्ता लाग्नेमा ढुक्क हुन आग्रह गर्दछु । वास्तविक अपराधीलाई कानुनी कठघरामा ल्याएर कारबाही गरिनुपर्ने आफूहरूको पनि माग छ ।’ देउवाले दिएको आश्वासनको साढे तीन वर्ष र निर्मला हत्याको चार वर्ष भएको छ । अब न दुर्गादेवीलाई न्याय पाउने आश छ न त प्रधानमन्त्री देउवाले नै दोषी पत्ता लगाउन चासो दिएका छन् ।

६३५ जनासँग सोधपुछ, ११० जनाको डीएनए परीक्षण

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको १० जनाको टोली र डिएसपीको नेतृत्वमा सिआईबीको टोली अहिले पनि निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा सक्रिय छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी चक्रबहादुर शाह भन्छन्- ‘निर्मलाको केसमा नेपाल प्रहरी सुरूदेखि नै गम्भीर भएर लागेको हो । प्रहरीको पहिलो प्राथमिकताको केस पनि हो । त्यसैले अहिले पनि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ ।’ डिएसपी शाहका अनुसार निर्मलाको बलात्कार र हत्याको अनुसन्धानका क्रममा ६३५ जनासँग सोधपुछ भएको छ ।

‘अहिले नेपाल प्रहरीले नयाँ कोणबाट पनि निर्मला घटनाको अनुसन्धान गरिरहेको छ’, शाहले भने– ‘घटनास्थल वरपरका बासिन्दालाई पनि हामीले निगरानीमा राखेका छौं । लागूऔषध प्रयोगकर्ता पनि अनुसन्धानको घेरामा छन् । २० जना लागूऔषध प्रयोगकर्तालाई त नियन्त्रणमा लिएर सोधपुछ नै भइसकेको छ ।’

घटनामा शंकास्पद मानिएका एक सय १० जनाको डीएनए परीक्षण पनि भइसकेको डिएसपी शाहले बताउनुभयो । ‘एक सय सात जनाको त रिपोर्ट नै आइसकेकोमा कसैको पनि म्याच भएन’, प्रहरी नायब उपरीक्षक शाहले थपे – ‘शंकास्पद तीन जनाको डीएनए परीक्षणका लागि नमुना पठाएका छौं । रिपोर्ट आउन बाँकी छ ।’

यस्तो थियो घटना विवरण

भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घर गएकी थिइन तर साथीको घरबाट आफ्नो घर भने फर्किन पाइनन् । १० साउनमै बेपत्ता भएकी निर्मलाको खोजी सुरू भयो । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्‍यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो । स्थानीयले बिष्ट दोषी नभएको भन्दै आन्दोलन सुरू गरे । डीएनए म्याच नभएपछि बिष्ट पनि छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो ।

भदौ ७ गते गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन टोली गठन गर्यो । उक्त टोलीले प्रहरीले प्रमाण नष्ट गरेको भन्दै सरकारलाई प्रतिवेदन बुझायो । प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न एआइजी धिरू बस्न्यातको संयोजकत्वमा छानबिन टोली गठन गयो ।

उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुने गरी बर्खास्त गरेको थियो । डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरियो । विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाए । अहिले तत्कालीन एसपी बिष्टको बढुवा भइसकेको छ । स्राेतः INS

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *