देउवासँग चुनाव लड्ने तयारी गरेका सागर ‘नाइट बस’मा सुदूरपश्चिम आउँदै

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने घोषणा गरेका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीका लागि डडेलधुरा आउन लागेका छन् ।

उनी सोमबार ‘नाइट बस’ चढेर चुनावको तयारीका लागि प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरा आउन लागेका हुन् ।

उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘हामीले सकेको भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौँ । हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौँ । ठूल्ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्णरुपमा छोडेर चौपारी वा सडकमा, पानीसँगै रुझेर, बसेर आमाबुवा, छोराछोरी र साथीहरूसँग भलाकुसारी गर्नेछौँ ।’ उनले चुनावका लागि घोषणापत्र नभई कार्यान्वयन पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

‘सिंगापुर र चीनजस्तो एक पुस्तामै आमूल कायापलट हुने गरी विकास गर्न सक्छौ कि सक्दैनौँ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २/३ महिनामा सम्भावित प्रधानमन्त्रीसहित चीन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौँ ।’ उनले लेखेका छन्, ‘गाउँको जोसुकै व्यक्ति डेलिभरी गर्न सक्छ भने ऊ राजनीतिमा आउने आँट गरोस् ।’

प्रधानमन्त्री देउवाले वर्षौदेखि आफू जन्मेको गाउँमा पाइला नटेकेको भन्ने सुनेको भन्दै लेखेका छन्, ‘यसपटक हजुरबुवालाई नातिले डोर्‍याएर जमिन टेकाउनेछ । जनतालाई पीडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आँखा कमजोर भएपनि गाउँ-गाउँ र सहर सहरबाट कानमा घन्किने गरी आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडी पनि मिल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =