प्रदेशसभामा मुख्यमन्त्रीको आलोचना : ‘सरकार हिंसा भड्काउन उद्धत छ’

विराटनगर । प्रदेशसभाको शून्य समयमा सांसदहरूले मुख्यमन्त्रीको आलोचना गरेका छन् । पछिल्लो समय प्रदेश १ को नामकरणको विषयलाई लिएर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको बारेमा मुख्यमन्त्रीको आलोचना भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा एमालेका सांसदहरूले मुख्यमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समय यता आएको अभिव्यक्तिले आज मुलुकको ध्यान नै आकर्षित भएको बताएका छन् ।

‘एउटा मुख्यमन्त्रीले कुनै पहिचान विशेषको मुद्दा सम्बोधन भए वा नभए विखण्डन हुन्छ, मुलुकमा उथलपुथल हुन्छ भन्न मिल्छ की मिल्दैन ?’, उनले प्रश्न गर्दै भने, ‘विद्रोह हुन्छ भन्न मिल्छ कि मिल्दैन ? सामाजिक सद्भाव भड्काउने गरी, जातीय सद्भाव भड्किने गरी अरू पहिचानवालाहरूलाई असर पर्नेगरी एउटा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिनु हुन्छ कि हुँदैन ?’

उनले सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको सदनबाट स्पष्ट जवाफ दिन माग गरे ।

‘एउटा व्यक्तिको व्यक्तित्व भनेको अलक अलग समयमा अलग अलग परिस्थितिमा अलग अलग हुन्छ’, प्रदेशसभा सदस्य अधिकारीले भने, ‘त्यही व्यक्ति हो घर जाँदाको भाइ–भतिजो–छोरो, त्यही व्यक्ति हो मावल जाँदाको भान्जा–भान्जी र त्यही व्यक्ति हो ससुराली जाँदाको ज्वाइँ चेलो कुटुम्ब, अनि त्यही व्यक्ति हो कँहिको श्राेता, कँहिको दर्शक, कँहिको अतिथि, प्रमुख अतिथि हुन्छ, हरेक व्यक्तिको पदको हैसियत हुन्छ ।’

उनले सरकारमा भएका मुख्यमन्त्रीले आफ्नो पदीय मर्यादालाई कायम राख्नुपर्छ कि पर्दैन ? प्रदेशसभामा आएर स्पष्ट जवाफ दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य विना देवी राईले मुख्यमन्त्रीले जनता समक्ष गएर जनतालाई उचाल्ने काम गरेको आरोप लगाइन् ।

‘मुख्यमन्त्रीले किराँत प्रदेश बनाउँछु, नामकरण गर्छु भनेर भनिरहेको अवस्थामा छ’, उनले भनिन्, ‘जनता सडकमा आन्दोलित भएको अवस्थामा सरकारले नामकरणको विषयमा किन टेबुल नगरेको ?’ सरकार हिंसा भड्काउन उद्धत रहेको उनको भनाई छ ।

प्रदेश १ को जनताको भावना अनुसार तत्काल प्रदेश १ को नामकरण गर्न उनले माग गरिन् । मुख्यमन्त्रीलाई प्रश्न गर्दै उनले भनिन्, ‘हिजो नामकरण हुनु पर्‍यो भन्दै हिँड्नेहरू आज सरकारको प्रमुख हुँदा नामको प्रस्तावमा किन नल्याएको, अहिले सरकार के गरिरहेको छ ?’

दशौँ अधिवेशनको एक्काइसौँ बैठकको शून्य समयमा बोल्दै उदयपुरकी सांसद कला घलेले कोसी कटानमा बसोबास गर्ने नागरिकको सिँचाई समस्या दीर्घकालको रूपमा समाधान गर्न आग्रह गरिन् ।

संखुवासभाकी प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले धर्मदेवी नगरपालिकामा धार्मिक पर्यटकीय क्षेत्र प्रशस्तै भएपनि त्यसको संरक्षण र बाटोघाटोको व्यवस्थापन गर्न माग राखिन् ।

प्रदेशसभा सदस्य पूर्णप्रसाद राई याम्फुले किराँतीहरूको मुन्धुमको बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य शान्ता पौडेलले प्रदेश १ को नामकरण यसै अधिवेशनबाट चाँडो टुंगो लगाउनु पर्ने बताइन् । उनले कोरोनाको महामारी बढ्दै गएको अवस्थामा उपचार र औषधीमा समस्या देखिएको बताइन् । बजारमा औषधीको जारी मिति भएपनि म्याद सकिएको मिति उल्लेख नभएकोले बजार अनुगमन गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् । बजार मूल्य अत्यधिक बढेकोले बजार अनुगमन गर्नु पर्ने बताइन् ।

सुनिता चौधरीले प्रदेश १को नाम पहिचानको आधारमा राख्न माग गरिन् । उनले स्थानीय तहले करारका कर्मचारीलाई उदयपुरका स्थानीय तहबाट निकालिएको बताइन् । स्थानीय सरकारले अमानवीय व्यवहार देखाएर करारका कर्मचारी निकाल्ने काम भएको निकालिएका कर्मचारीको पुनर्बहाली गर्न माग राखिन् ।

सुयर्माराज राईले भद्रपुरदेखि इनरुवासम्मको जग्गा अधिग्रहणको काम भएको तर मुआब्जा दिने काम नभएको बताए । उचित मुआब्जा पनि नपाएको, जग्गा रोक्का रहेको कारण आर्थिक कारोबार गर्न नपाएको उनले सदनलाई जानकारी गराए ।

‘मुआब्जा दिने वा रोक्का राखिएको जग्गा फुकुवा हुनु पर्छ’, उनले भने, ‘जग्गा रोक्का राखिएको कारण ठुलो समस्या देखिएको छ, नागरिकलाई आन्दोलित अवस्थाबाट रोक्नका लागि सरकारले ध्यान देओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *