उपसचिवबाट कुटिएका सवारी चालक भन्छन् – मेरै अफिसले तपाईंलाई चिन्दैनौँ भन्यो !

काठमाडौँ । संसद् सचिवालय सिंहदरबारमा कार्यरत सवारी चालक हरिराम रुपाखेती महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठबाट कुटिएका छन् ।
आइतवार बिहान ९ः५० बजेको समयमा रुपाखेतीमाथि श्रेष्ठले मुक्का प्रहार गरेका हुन् । पीडित रुपाखेतीका अनुसार श्रेष्ठले म चढ्ने बेला बढी ‘घ्यारघ्यार’ पार्छस् भन्दै मुक्का हानेको बताए ।
उनले भने, ‘उहाँ कहाँबाट चढ्नुभएछ थाहै पाइनँ । झर्ने बेलामा एक्कासि मुख छाड्नु भो । मैले मबाट के गल्ती भयो र हजुर भन्दा मुक्का हान्नु भयो ।’
उनले सबै स्टाफ झरिसकेको अवस्थामा उपसचिवले एक्कासि त्यस्तो व्यवहार गरेको देख्दा अक्क न वक्क भएको बताए । ‘सबै जना झरिसक्नुभएको थियो, उहाँको यस्तो व्यवहार देख्दा अक्क न वक्क भए । केही गर्न सकिनँ’, उनले भने, ‘पछि अफिसका स्टाफले छुट्याएर पठाए ।’
रुपाखेतीले आफू १५ वर्षदेखि संसद् सचिवालयमा करार सेवामा कार्यरत रहेको बताए । उपसचिवबाट कुटिएपछि उनले संसद् सचिवालयको सवारी शाखामा आवश्यक कारबाहीका लागि निवेदन दिएको जानकारी मकालुखबरलाई दिए । उनले भने, ‘सवारी शाखामा न्याय पाउँ भन्दै निवेदन दिएको छु । शाखाले प्रशासनमा पठाएको छ । तर, प्रशासनले कर्मचारी नै चिनिएन भन्छ रे ।’
उनले आफ्नो करार थप नभएकाले प्रशासनले चिन्दिनँ भनेको हुनसक्ने बताए । ‘म १५ वर्षदेखि यस कार्यालयको सवारी हाँक्दैआएको छु । अहिले मेरो करार थप भएको छैन । त्यसैले, अफिसले नचिनेको हुनसक्छ ।’
उनले घटनास्थलमै प्रतिक्रिया जनाएको भए केही न केही हुन्थ्यो कि भनेर अपसोस समेत व्यक्त गरे ।
उता, संसद् सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले आफूले कर्मचारीमाथि हातपात भएको सुकेको र सो विषयमा निवेदन समेत आएको बताए । उनले भने, ‘हिजोको घटना हो, कसरी कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा बैठक बस्दै छ भन्ने जानकारीमा आएको छ ।’








