तीन जिल्लाका १६ उद्योगविरुद्ध मुद्दा दर्ता

विराटनगर । न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्ने १६ वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । एक वर्षको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ती उद्योगहरूका विरुद्ध मुद्दा दर्ता गरेको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै न्यून गुणस्तर उत्पादन गर्ने प्रदेश १ का तीन जिल्लाका १६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए । उद्योगले उत्पादन गर्ने खाद्यवस्तुको नमुना संकलन गरी ल्याब परीक्षणबाट गुणस्तरहीन र न्यून गुणस्तरहीन पुष्टि भएपछि अदालत र प्रशासन कार्यालयमा अभियोग दायर गरिएको उनले बताए । न्यून गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्ने मोरङ, झापा र सुनसरीका १६ वटा उद्योगलाई मुद्दा लगाएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा नमुना संकलन गरेकामध्ये सबैभन्दा धेरै न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योग मोरङमा भेटिएका छन् । मोरङका ९ उद्योगले उत्पादन गरेको खाद्यवस्तुको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा परीक्षण गर्दा न्यून गुणस्तरको खाद्य बस्तु भेटिएको रिपोर्ट आएपछि मुद्दा दर्ता भएको उनले बताए । झापाका पाँच र सुनसरीका दुई उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ ।

यी उद्योग कारबाहीमा
विराटनगर-१४ मा रहेको बालाजी डेरी उद्योगले घ्यू न्यून गुणस्तरको उत्पादन गरेको पुष्टि भएपछि गत वर्षको भदौ २७ गते मोरङ अदालतमा ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर मुद्दा दायर गरेको छ ।

यस्तै विराटनगर ५ मा रहेको एक्वा एक्टिभ बेभरेजलाई ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर असोज ६ गते अभियोग दायर गरेको कार्यालय प्रमुख रिजालले बताए । विराटनगरकै सेन्ट्रल फुड एण्ड खाद्यान्न प्याकेजिङ्गले उत्पादन गर्ने पोस्ता दाना न्यून गुणस्तरको भेटिएपछि फागुन २५ गते मुद्दा दर्ता भएको छ । नेपाल बेलहोप एग्रिटेक प्रालिले उत्पादन गर्ने कुखुराको दाना दूषित पाइएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको प्रमुख रिजालले बताए ।

विराटनगरको खेतान चिया उद्योगले उत्पादन गर्ने सिटिसी चिया न्यून गुणस्तरको भेटिएको पनि कार्यालयले जनाएको छ। सो उद्योग विरुद्ध जेठ ९ गते अदालतमा मुद्दा दायर गरेको छ कार्यालयले गृहलक्ष्मी फुड इण्डष्टिजले सोरा चड्क्समा लेबल नभएको पाइएपछि प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । झापाको दमक ९ मा रहेको पञ्चकन्या फुड, बिर्तामोड ७ मा रहेको सोरुप फ्रेस नुडल्स, हिमालय फुड एण्ड स्नायक्स उद्योग, बुट्टाबारी टि प्रालि र नेपाल चिया विकास निगम लि.ले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको छ ।

यस्तै सुनसरीको रामधुनी ५ मा रहेको कोशी फिड प्रालि र इटहरी १३ मा रहेको पूर्वाञ्चल एग्रीटेक प्रा.लिले उत्पादन गरेको दाना दूषित भेटिएको कार्यालयले जनाएको छ। मुद्दा दायर गरेका मध्ये मोरङ विराटनगरको विराट गोल्छाले उत्पादन गर्ने घ्यू न्यून स्थरको उत्पादन गरेको कसुरमा मोरङ अदालतले दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरहीन उत्पादन बजारमा पठाउने दुई दर्जन बढी उद्योगलाई मुद्दा दर्ताको तयारी गरेको छ । न्यून गुणस्तरको र दूषित बस्तु उत्पादन गर्ने २५ वटा उद्योगविरुद्ध कसुर अनुसारको माग दाबी लिएर अभियोग लैजाने तयारीमा रहेको कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *