मदन भण्डारीको नाममा कानुन बन्नै लाग्दा एमालेकै सांसद अनुपस्थित

काठमाडौं । आइतबार संघीय संसदले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन’ बनाउँदै थियो । तर, मदन भण्डारीका कामकारबाहीलाई देखाएर राजनीति गर्दै आएका नेकपा एमालेका सांसदहरू नै अनुपस्थित हुँदा ऐन बन्ने अन्तिम चरणको संसदीय प्रक्रिया नै रोकिन पुगेको छ ।
मदन भण्डारीलाई ‘आदर्श’ व्यक्तिका रूपमा चित्रित गर्दै यो विधेयक तत्कालीन केपी ओली नेतृत्वको सरकारले १२ साउन २०७६ मा ल्याएको थियो । जसलाई संघीय संसद्का दुवै हाउस (प्रतिनिधिसभा र राष्ट्रिय सभा)ले पारित गरिसकेको छ ।
आइतबार प्रतिनिधिसभाले राष्ट्रिय सभामा भएको संशोधन स्वीकार गरेर सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने तयारी गरेको थियो । तर, अन्तिम चरणको प्रक्रियामा गणपूरक संख्या नपुग्दा अगाडि बढ्न सकेन ।
प्रतिनिधिसभामा एमाले एक्लैको ९८ जना सांसद छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसद संख्या गन्दा जम्मा ५७ जना सांसद उपस्थित थिए ।
गणपूरक संख्या नपुगेपछि सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभाको दुई दिनका लागि स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते मंगलबार दिउँसो एक बजे बस्नेछ । अर्थात्, मदन भण्डारीको नाममा बन्नै लागेको कानुन एमालेकै सांसद अनुपस्थित हुँदा केही दिन पर धकेलिन पुगेको छ ।








