चिया बगानमा झुन्डिएको अवस्थामा भेटिएका तीन किशोरी घुम्न हिँडेका थिए

झापा । झापामा तीन जना किशोरी एउटै रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठककाअनुसार कचनकवल गाउँपालिका ५, पाठामारीका तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीनै किशोरीले झुन्डिएर आत्महत्या गरेको देखिएको छ । अनुसन्धान जारी रहेकाले अहिले नै घटनाको निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ ।

प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । झुन्डिएको अवस्थामा भेटिएकाहरूमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन् ।

अभिभावकका अनुसार गाउँकै चिया बगानमा काम गर्ने ती किशोरीहरू शनिबार घरबाट घुम्न भनेर हिँडेका थिए । शनिबार चिया बगान पनि बिदा हुने भएकाले घुम्न निस्किएका उनीहरू बेलुकासम्म नफर्किएपछि खोजी थालिएको थियो ।

शनिबार राति अबेरसम्म नआएपछि अभिभावकहरूले खोजी गरेका रहेछन् । तर नभेटिएपछि हामीकहाँ खबर आएको थियो, पाठकले भने, तर आइतवार बिहान साढे सात बजेतिर सुनकोसी चिया बगानस्थित बयरको रूखमा उनीहरू झुन्डिएको भेटिए ।

याे पनिः एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =