उपत्यकामा २० किलोमिटरमाथि यात्रा गर्दा ४० रुपैयाँ भाडा

काठमाडौँ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकामा बस चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्ने यसअघिको प्रावधान यथावत् राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको हो । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुयाइएको छ ।

त्यस्तै, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ । उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौंबाट कुरिनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि, २ सय ८३ थियो ।

त्यस्तै, काठमाडौं गल्छी ४७ किमीका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ । काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ पु-याइएको छ ।

काठमाडौं नारायणगढ हेटौंडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकामा अब ६ सय ६४ कायम गरिएको छ ।
बाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र ट्याक्सीको हकमा भने गत १ वैशाखदेखि लागू गरिएको भाडादर यथावत् राखिएको जनाएको छ ।

सरकारले पछिल्लोपटक भाडादर समयोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा त्यसबमोजिम प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडादर समायोजन हुने जनाएको छ ।

यसअघि, केन्द्र सरकारले पनि भाडादर वृद्धि गरेको थियो । केन्द्रमा पनि ५ प्रतिशतभन्दा बढी वा घटी पेट्रोलियम पदार्थको मूल्य समायोजन हुनेबित्तिकै सार्वजनिक तथा मालवाहक यातायातको भाडा समायोजन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *