गठबन्धनभित्र उप-गठबन्धन बन्नू स्वाभाविक हाे, ‘इगाे’का कारण वामपन्थीहरू बिग्रिए : लीलामणि पाेखरेल (अन्तर्वार्ता)

'समीकरण बदलिन सक्छ'

काठमाडाैँ । मुलुकमा पाँचदलीय गठबन्धनकाे सरकार छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे लगातारकाे संसद्‌ विघटनकाे कदमविरुद्ध एक कित्तामा उभिएका पाँच दलहरू २०७८ असार २९ गते आएर सत्तारुढ बने । सत्ताकाे चाबी पाँच दलमध्येकाे ठूलाे दल नेपाली कांग्रेसकाे हातमा पर्‍याे । साउन ३ गते संसद्‌बाट विश्वासकाे मत प्राप्त गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले असाेज २२ मा आएर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सफल भए ।

त्यसपछि गत असार मसान्तसँगै पाँचदलीय गठबन्धन सरकारले एकवर्ष जुगारेकाे छ । यसबीचमा बाह्यरूपमा त गठबन्धन सरकारकाे निकै आलाेचना र विराेध भयाे नै, याे लाइनमा तत्कालनी सत्तारुढ नेकपा (एमाले) उभिने नै भयाे । तर पछिल्लाे स्थानीय तह सदस्य निर्वाचनयता भने गठबन्धनभित्र आन्तरिकरूपमै पाँचदलबीचकाे सम्बन्ध बिग्रँदै गएकाे घटनाक्रमहरूले पुष्टि गर्दै आएका छन् ।

स्थानीय निर्वाचनकाे नतिजाबाट कांग्रेसबाहेक अन्य दलहरू असन्तुष्ट छन् । सबैभन्दा धेरै त २०७८ भदाै ९ गते एमाले फाेडेर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाल-झलनाथ खनाल छन् । उनीहरूकाे आराेप छ— ‘कांग्रेस-मओवादी केन्द्रबीच मात्रै तालमेल भयाे । हामीलाई गम्भीर अपमान गरियाे, गन्दै गनिएन ।’ त्याे त माओवादी केन्द्र नै पनि खासरूपमा सन्तुष्ट देखिँदैन । २०७४ सालकाे निर्वाचनमा भन्दा केही पालिका बढाएकाे माओवादी केन्द्रका नेताहरूले भन्न थालेका छन्— ‘कांग्रेसले दम्भ देखाउन थाल्याे ।’

त्यसाे त जनता समाजवादी पार्टी पनि खासरूपमा सन्तुष्ट छैन । यी यावत् राजनीतिक चित्रहरूले आसन्न स्थानीय निर्वाचनसम्म पुग्दा समीकरण बदलिने त हाेइन् ? स्वाभाविक प्रश्नहरू उठ्न थालेका छन् ।

उसाे त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी केन्द्र निर्माणकाे कसरत भइरहेकाे छ । उनीहरूबीच एक चरणकाे सहमतिसमेत भइसकेकाे छ । त्यसमा माधवकुमार नेपालले समेत सहभागिता जनाउन थालेका छन् । उनीहरूबीच थप अगाडि बढ्नका लागि कार्यदल बनाउने सहमतिसमेत भएकाे सूत्रहरूले जनाएका छन् ।

जसै— नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरूकाे भेटघाट पनि बाक्लिएकाे छ । प्रचण्ड-माधवसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतमबीच याेबीचमा दुईपटक भेटघाट भएकाे छ । यी यावत् भेटघाट, छलफल, बहस, वार्ता तथा सन्दर्भहरूकाे अर्थ के हाे ? मूलत: यी नै विषय/सन्दर्भहरूमा मकालुखबरकर्मी धनबल राईले माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पाेखरेलसँग कुराकानी गरेका छन् । सम्पादित अंश हेराैँ—

‘समाजवादी केन्द्र बन्छ, बन्नुपर्छ’

नेता पाेखरेल समाजवादी केन्द्र बन्ने दाबी गर्छन् । भन्छन्, ‘समाजवाद हाम्राे सबैकाे महसुस हाे । त्यसाे हुँदा समाजवादी माेर्चा, केन्द्र बन्नुपर्छ भन्ने नै हाम्राे सबैकाे चाहना र जाेड हाे । याे बन्नुपर्छ, याे हाम्राे आवश्यकता पनि हाे । याे बन्छ ।’

यसबेला विचार मिल्नेहरूकाे ध्रुवीकरणसमेत अपरिहार्यजस्तै बनेकाे उनकाे ठम्याइँ छ, भनेका छन्— ‘विचार मिल्नेहरूकाे ध्रुवीकरण यसबेलाकाे आवश्यकता पनि हाे । यही आवश्यकताले नै समाजवादी माेर्चा भन्नुस् वा केन्द्र भन्नुस्, त्यसलाई पनि जन्माउने हाे भन्ने हाम्राे जाेड हाे ।’

वामपन्थी र समाजवादी शक्तिहरूबीचकाे ध्रुवीकरण यसबेलाकाे देशकाे आवश्यकतासमेत रहेकाे नेता पाेखरेल बताउँछन् । उनले भनेका छन्, ‘एजेन्डाबेसिस एकता पनि एउटा विकल्प हाे भने अर्काेचाहिँ सैद्धान्तिकरूपमा पनि छलफल गर्दै जुट्नुपर्छ भन्ने हाे माओवादी केन्द्रकाे एजेन्डा । राम्राे त वामपन्थीहरूबीचकाे एकता नै हाे । हामी यसमा थप कुराकानीसमेत गरिरहेका छाैँ ।’

‘यथास्थितिमा एमालेसँग एकता हुँदैन’

‘भाेलि हुँदै हुँदैन त भन्नु हुँदैन र भन्दिनँ पनि, असम्भव भन्ने केही पनि हुँदैन । तर यथास्थितिमा भने एमालेसँग एउटै कित्तामा उभिन गाह्राे हुन्छ,’ नेता पाेखरेल भन्छन् । विद्यमान अन्तर्विराेध नहटाइकन पुन: एकठाउँ हुन नसकिने उनकाे बटमलाइन छ । ‘बीचमा विद्यमान अन्तर्विराेधहरू रहेनन् भने एउटा कुरा हाे । तर, यही अवस्थामा चाहिँ गाह्राे हुन्छ । माओवादी केन्द्र त्याे पक्षमा छैन । त्यसका लागि बीचका असमझदारीहरू हटाउन आवश्यक छ, आत्मालाेचनाहरू हुनै र गर्नै बाँकी छन् । त्याे भएर अहिल्यै याे साेच्न सकिन्न ।’

||नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोखरेल। तस्बिर : मकालुखबर/सराेज बस्नेत||

एमाले अध्यक्ष केपी शर्मा ओली स्वेच्छाचारी ढङ्गकाे भएकाे र अझै उनी नसुध्रिएकाे उल्लेख गर्दै थपे, ‘हिजाेकाे घटनाबाट पनि सिक्नैपर्छ । हामी सिकेका छाैँ । एमालेसँग अब एकठाउँ रहँदै नरहने भन्ने त हाेइन, तर तत्कालचाहिँ त्याे सम्भावना देखिँदैन ।’

उनी एमालेले पुन: दम्भ देखाउन थालेकाे आराेप लगाउँछन् । भन्छन्, ‘केपी ओलीजीले केही दिनअगाडि भन्नुभयाे काेही वामपन्थी छाै भने आउ भनेर । अनि उहाँलाई नेपालका काे काे वामपन्थी छन् र के कस्ता मुद्दाहरू बाेक्छन् भन्ने थाहा हुँदैन र ? हाे यहीँ नै छ ठूलाे समस्या । उहाँकाे दम्भ त तपाईंले सुनिहाल्नुभयाे । विगतमा पनि हामी यही-यही कारण छुटेका हाैँ । उहाँ बढी स्वेच्छाचारी हुनुहुन्छ ।’

‘इगाेका कारण वामपन्थीहरू एकठाउँमा हुन सक्दैनन’

नेता पाेखरेल ‘इगाे’कै कारण वामपन्थी शीर्षस्थ नेताहरू सँगै रहन वा एकठाउँमा हुन मन नपराउने विश्लेषण गर्छन् । तपाईंहरू सबैले एकता गर्नु हुँदैनचाहिँ भन्नुहुन्न, तर त्याे पहल र मिल्ने दिशामा चाहिँ जानुहुन्न किन ? भन्ने प्रश्नमा नेता पाेखरेलकाे जवाफ छ, ‘इगाेका कारण हाे धेरै त । अनिचाहिँ वैचारिक कुराहरूमा पनि कहिलेकाहीँ त्याे हुन सक्छ । तर अहिलेसम्मकाे विगत हेर्दाचाहिँ इगाेकै कारण हाे ।’

वामपन्थी शीर्षस्थ नेताहरू इमान्दार नहुँदा पनि नेपालकाे वामपन्थी आन्दाेलन तहस-नहस बनेकाे नेता पाेखरेल बताउँछन् । उनी भन्छन्, ‘नेताहरू इमान्दार भएनन् ।  नेताहरूभित्र भएकाे जिनमा समस्या देखियाे । एकीकरण विचारले गर्छ । सङ्गठनात्मक सिद्धान्तले गर्छ र एजेन्डाले गर्छ । हामीसँग भएकाे एजेन्डा र भिजनलाई कार्यान्वयन गर्न हाम्राे सङ्गठनात्मक सिद्धान्त हुनुपर्‍याे । त्यसलाई विचारले गाइड गर्नुपर्‍याे । अनि त्यसमा इमान्दारीता हुनुपर्‍याे । नैतिवान् हुनुपर्‍याे । वामपन्थी आन्दाेलनकाे समस्या नै त्यही हाे । इगाेकाे समस्या छ र इमान्दार छैन । त्याे भएर नै नेताहरू सँगै रहन सक्दैनन् ।’

‘गठबन्धनभित्र उप-गठबन्धन बन्नू स्वाभाविक हाे’

‘गठबन्धनभित्र उप-गठबन्धन बन्नू स्वाभाविक हाे,’ नेता पाेखरेल निर्धक्क भन्छन् । गठबन्धनभित्र कांग्रेसले दम्भ देखाउन थालेकाे भनाइ उनकाे छ, भन्छन्, ‘उप-गठबन्धन बन्नू स्वाभाविक हाे । कांग्रेसले गठबन्धनभित्र दम्भ देखाउँछ भने उप-गठबन्धन, माेर्चा वा के भन्नुहुन्छ त्यसलाई, त्याे बन्छ । त्यसकाे विकल्पमा त निक्लिहाल्छ नि ।’

||नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोखरेल। तस्बिर : मकालुखबर/सराेज बस्नेत||

कांग्रेसकाे पछिल्लाे केन्द्रीय समिति बैठकले आफूले बहुमत लिएर मात्रै अरुसँग तालमेल गर्ने निर्णय गरेकाे भन्दै उनले थपे, ‘हामी के कांग्रेसकाे पुच्छर हाैँ ? अरु पनि त सहअस्थित्व हुन् नि त । संवादका क्रममा उसकाे बहुमत हाेला त्याे अलग कुरा हाे । तर पहिल्यै नै आफूले बुहमत लिएर मात्रै अरुसँग तालमेल गर्ने भन्ने निर्णय गर्नु उचित हुँदैन । त्याे अरुलाई हेपेकाे हुन्छ ।’

याेभन्दा अगाडिकाे निर्वाचनमा कति सिट पायाे । कांग्रेस, जसपा, एकीकृत समाजवादी निर्वाचित कति ल्यायाे । यी सबैलाई एकठाउँमा राख्ने, यी पूँजी हुन् । अब थप पूँजी आर्जन गर्का लागि कहाँबाट कहाँ हमला गर्ने ?

‘समीकरण बदलिन सक्छ’

नेता पाेखरेल चुनावसम्ममा समीकरण बदलिने कुरालाई अस्वीकार गर्दैनन्, भन्छन्— ‘समीकरण बदलिँदै बदलिँदैन भन्ने त कहाँ हुन्छ र । गठबन्धनहरू, समीकरणहरू बन्छन्, भत्किन्छन् । त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ ।’

तर पाँचदलीय गठबन्धनकाे समीकरण भने नभत्काउने पक्षमा माओवादी केन्द्र रहेकाे उनी बताउँछन् । ‘हाम्राे पक्षबाट भने याे समीकरण फेरिँदैन,’ उनले भने, ‘अरुबाट थाहा छैन । समीकरण नबदलिओस् भन्नेचाहिँ छ ।’

तर गठबन्धनभित्र यस्तै दम्भहरू आउन थाले भनेचाहिँ साेच्नैपर्ने उनकाे भनाइ छ । ‘समीकरण बदलिँदैन नै भनेर ग्यारेन्टी त कहाँबाट गर्नु र ?,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *