एक वर्षमा प्रदेश १ मा प्रहरीमा ८ हजार ५५ मुद्दा दर्ता,  ३९ करोड २१ लाख राजश्व संकलन

विराटनगर। प्रदेश १ मा प्रहरीले एक वर्षको अवधिमा ८ हजार ५५ वटा मुद्दा दर्ता गरेको छ।  १ नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूबीच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा  आर्थिक २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो समयमा प्रहरीले ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ। समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचाल भए अनुरूप उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए ।

‘आर्थिक वर्ष२०७८/०७९मा ८ हजार ५५ वटा विभिन्न अपराध सम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई कानुनी कारबाही भएको छ, उनले भने, ३ हजार १ सय ७७ वटा मुद्दाहरू फर्छ्यौट भइसकेको छ ।’

फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।

यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जनालाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।  नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ३७ जना  र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरी ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ ।

यसैगरी अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ परेका छन् ।   ४ हजार ६ सय ४८ क्यू।फिट। काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको प्रवक्ता राईले बताए । सोही अवधिमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधन कारबाहीमा परेका छन्।  जसबाट १८ करोड १ लाख ५९ हजार  राजश्व संकलन भएको छ ।

प्रहरी यो एक वर्षको अवधिमा लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७  मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरू ७ सय ६९ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।  प्रहरीले ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा पनि नष्ट गरिएको जनाएको छ ।

प्रहरीले एक वर्षको बिचमा १ हजार ८ सय ६४ जना  प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।  प्रहरी आचरण विपरीत कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरूलाई विभागीय  कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *