वाग्मती प्रदेशसभामा कांग्रेस अनुपस्थित, मुख्यमन्त्री छाड्न पाण्डेलाई दबाब

चितवन । वाग्मती प्रदेशका नेपाली कांग्रेसका सांसद तथा मन्त्रीहरूले फेरि मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई यसअघिको मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने सत्तारुढ गठबन्धनबिच भएको सहमति कार्यान्वयन गर्न थप दबाब बढाएका छन् ।

मुख्यमन्त्री पाण्डेले यसअघि आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने भन्ने सहमति कार्यान्वयन नगरेकै कारण आज १ बजे भएको वाग्मती प्रदेश सभाको बैठकमा कांग्रेसका सांसद तथा मन्त्रीहरू नै अनुपस्थित भए ।

नेपाली कांग्रेसका एक सांसदका अनुसार सत्ता सञ्चालनमा भएको यसअघिको सहमति मुख्यमन्त्री पाण्डेले कार्यान्वयन नभएको बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री पाण्डेले इमानदारी प्रस्तुत गर्नुभएको छैन, कांग्रेस एकीकृत समाजवादीबिच ६/६ महिना अर्थात् आधाआधा कार्यकाल वाग्मतीको सत्ता चलाउने गरी सहमति भएको थियो, तर उहाँ (राजेन्द्र पाण्डे)ले सहमति पालना गर्नुभएको छैन, हामी उहाँलाई यसअघिको सहमति पालना गर्न दबाब दिएका छौँ ।’ उनका अनुसार दबाबस्वरूप नै आजको बैठकमा कांग्रेसका धेरै सांसद तथा मन्त्रीहरू अनुपस्थित भएका हुन् ।

बैठकमा कांग्रेस सचेतक छिरिङ दोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलको उपस्थिति थियो । बजेट पारित भएसँगै अबको वाग्मतीको चुनावी सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने अडान कांग्रेसका सांसदहरूले गरेका छन् ।

यसअघि मुख्यमन्त्री पाण्डेलाई नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न दबाब दिनको लागि सत्तारुढ गठबन्धनकै कांग्रेस र माओवादीका सांसदहरूले हस्ताक्षर संकलन गरेका थिए, तर हस्ताक्षर अभियान बिचमै रोकियो । मुख्यमन्त्री पाण्डेले केन्द्रमै शीर्ष नेताबिच सहमति भएको खण्डमा मात्र आफूले पद त्याग्ने अभिव्यक्ति दिएपछि हस्ताक्षर अभियान बिचमै रोकियो । मुख्यमन्त्री पाण्डेलाई पद त्याग्ने विषयमा केन्द्रका कुनै किसिमको सहमति हुन सकेन । वाग्मती प्रदेशमा मुख्यमन्त्री पद कांग्रेसलाई दिनुपर्छ भनेर केन्द्रमा कुनै शीर्ष नेता बोलेनन् । जसका कारण मुख्यमन्त्री पाण्डे अझ बलियो भए ।

‘वाग्मतीका कांग्रेसका केही सांसदले मुख्यमन्त्री पाण्डेलाई पद छोड्न दबाब दिएका होलान्, केन्द्रमा शीर्ष नेताबिच कुनै सहमति भएको छैन’ नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले भने ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेलाई नेकपा एमालेको बलियो साथ दिने संकेत पाएपछि नेपाली कांग्रेस तत्काल एक्सनमा जान नचाहेको हो । पाण्डेलाई नेकपा एमालेले साथ दिएमा उनको बहुमत पुग्छ । जसले गर्दा मुख्यमन्त्री पाण्डे कांग्रेसको धम्काइबाट नडराएका स्रोतको भनाइ छ ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद रहेका छन् । नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ । एमाले र एस मिलेर सरकारमा सहभागी हुने अवस्था बन्यो भने पाण्डेको मुख्यमन्त्री पद जोगिन सक्छ ।

प्रदेशसभामा कांग्रेसका २२ जना सांसद रहेका छन् । सरकारमा कांग्रेसका ५ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *