बाजुरामा उपचार नपाएर कालाजार बिरामीको मृत्यु

धनगढी । कालाजारबाट बाजुरामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका १ का ५२ वर्षीय पर्वलाल गुरुङको मृत्यु भएको हो ।
कालाजार भएपछि पर्वलाललाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । कालाजारबाट थलिएका पर्वलालको उपचार अभावमा मृत्यु भएको स्थानीयले बताएका छन् । स्वास्थ्य केन्द्रबाट उपचार सम्भव नभएको भन्दै उनलाई नेपालगञ्ज वा काठमाडौँ लैजान भन्दै रिफर गरिएको थियो ।
तर पर्वलालसँग उपचार खर्च नभएपछि उनी घर फर्किएका थिए । उनले खर्च अभावमा उपचार गर्न नपाएपछि घरमै मृत्यु भएको उनकी श्रीमती पानकला गुरुङले बताइन् ।
सरकारले कालाजारको जाँच र उपचार निःशुल्क गर्ने व्यवस्था गरेको भएपनि गुरुङले भने उपचार नपाएर ज्यान गुमाउनु परेको छ ।
पहिले तराईका जिल्लामा मात्र देखिने कालाजार रोग पछिल्लो समय पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ । फलस्वरूप बाजुरामा पनि बर्सेनि कालाजारका केस देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुरामा पछिल्लो दुई वर्षयता १४ जनामा कालाजार पुष्टि भएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ र जिल्ला अस्पताल बाजुरामा १ गरी १४ जनामा कालाजार संक्रमण पुष्टि भएको छ ।
कालाजारको उपचार बाजुरामा हुने भनिए पनि कहिले औषधि नहुने समस्याले जिल्ला बाहिर नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
भुसुनाको टोकाइबाट सर्ने यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।








