पर्यटनमन्त्री श्रेष्ठकाे प्रतिबद्धता- भरतपुर विमानस्थल विस्तार गर्न ‘एक्सन’मा उत्रिएको छु

चितवन । नेपाल सरकारका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने बताए ।

भरपतुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमानमात्रै आवतजावत गर्ने अवस्थामा आइसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे । ‘०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा म ७ औँ मन्त्री हुँ’ उनले भने, ‘सातलाई लक्की सेभेन पनि भन्ने चलन छ । महानगर प्रमुखले हान्नुपर्छ भन्नुभयो । म फेरि खेलकुद कै मान्छे हुँ । संयोग मिलेको छ । भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ ।’

पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जाहज ल्याण्ड गराउन मिल्नेगरी विमानस्थल विस्तारको आवश्यकता औँल्याए । ‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’ उनले भने, ‘यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नु पर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनवासी यसमा एकजुट हुनु भएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र होइन, अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताइन् । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार गर्ने काममा पर्यटनमन्त्री श्रेष्ठलाई गोल हान्न आग्रह गरिन् । विमानस्थल विस्तार गर्न मापदण्डविपरीतसंरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लोभाग, अण्डरग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाइ नहुने स्पष्ट पारे । भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्डविपरीत निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रीकालिन उडान हुँदै आए पनि भरतपुरमा भने धावनमार्गको लम्बाई अपुग भएकाले उडान गर्न सकिएको छैन ।

अहिले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई १२ सय मिटर छ । यसलाई थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रीकालीन उडान भर्न सकिन्छ । यसका लागि उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजनन केन्द्र रहेको करिब ३ विगाह जग्गा समेटेर धावन मार्ग बढाएर विमानस्थलको स्तरउन्नती गर्ने गरी महानगरपालिकाले पहल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *