नामकरण !

नामकरण !

एउटा निर्दोष टुहुरो बालकलाई
आफूले आफैँलई सुकिलो सम्झिनेहरूले ‘खाते’ भन्न थालेपछि
आफूले आफैँलाई विद्वान सम्झिनेहरूले ‘सडक मान्छे’ भन्न थालेपछि
आफूले आफैँलाई इज्जतदार मान्नेहरूले ‘नाजायज’ भन्न थालेपछि
उसले नामै-नामको बुमरीमा बिर्सियो,आफ्नै नाम
र बाँच्यो एउटा युग,आफ्नै नाम बिर्सिएर ।

एकदिन परिस्थितिले रोपिदियो
उसको कोमल मस्तिष्कमा चेतनाको बिउ
उम्रियो थुप्रै प्रश्नका रुखहरू।

ती रुखमा पात बनेर पलाए
नाम प्रतिका थुप्रै कौतुहलता
अस्तित्वप्रतिको आगाध प्रेम ।
नानाथरी नामदिने पण्डितहरूप्रतिको विद्रोही योजना ।

उसले आफू बाँचिरहेको धमिलो समयको‌ खोलामा
आफ्नो अनुहार हेर्न खोज्यो
तर देखेन ।

मूललाई पहिल्याउन
खोलालाई उल्टो पच्छ्याउँदै गयो,
उसलाई लागेको थियो
आफू बाँचिरहेको समयको मुलनै दुर्गन्धित होला।
तर
पच्छाउँदै जाँदा
आफूले आफैँलाई सुकिलो सम्झिनेहरूले
विकारयुक्त विचार र डेड एक्पायर तथ्यहरूको ढल
मिसाएको भेट्यो ।

आफूले आफैँलाई विद्वान सम्झिनेहरूले
खतरनाक रसायनयुक्त सिद्धान्तहरू पोको पारेर
फालिरहेको भेट्यो ।
आफूले आफैँलाई इज्जतदार मान्नेहरूले
माक्स लगाएर तुर्क्याइरहेको भट्यो ।

पच्छाउँदै जाँदा
ऊ पुग्यो
आफू बाँचिरहेको धमिलो समयको खोलाको मूलसम्म ।
तर मूल धमिलो थिएन ।

उसले बढो ध्यानपूर्वक हेर्‍याे मूलतिर
बल्ल देख्यो,आफ्नो अनुहार
चिन्यो,आफैँलाई
सम्झियो,आफ्नो नाम

‘मलाई मेरै नामले बोलाउनू’ भनेर उद्घोष गर्‍याे ।

आजकाल
आफूले आफैँलाई सुकिलो सम्झिनेहरूले
उसलाई ‘जातिवादी हाे याे’ भन्छन् ।
आफूले आफैँलाई विद्वान सम्झिनेहरूले
उसलाई ‘दलाल हो यो’ भन्छन् ।
आफूले आफैँलाई इज्जतदार सम्झिनेहरूले
उसलाई ‘देशद्राेही हाे याे’ भन्छन्।
तर
ऊ आफैँभित्रको आवेगको मूललाई थुम्थुमाइरहेको छ ।
आवेगको मूल कति बेला फूट्छ र विध्वंस मच्चिन्छ यो उसलाई पनि थाहा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.