राजेश पायल राईकाे विश्वास- किरात प्रदेशबारे अरु जातिले पनि लफडा झिक्दैनन्

काठमाडाैँ । गायक राजेश पायल राईले प्रदेश नं. १ काे नाम किरात हुँदा सान्दर्भिक हुने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठाले बनाएकाे नेपाली बृह्त शब्दकाेषमा भएकाे ‘किरात’ शब्दकाे अर्थहरूकाे ‘स्क्रीनसट’ आफ्नाे आधिकारिक फेसबूकमार्फत् सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मलाई लाग्छ यस विषयमा अरु जातिले पनि लफडा झिक्दैनन् ।’
किरातबारे सबैलाई थाहा भएकाे र त्यसबारे धेरै बाेल्न नपर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘बाँकी त अब राजनीतिक अनुमोदन गरेर टेबल ठटाए भइहाल्ने हाे नि । किनकी पहिले हामीले नै इतिहासमा वल्लो किरात ,पल्लो किरात र माझ किरात पढेर नै हुर्किएका हाैँ ।’
प्रदेशकाे नाम यही संसदीय कार्यकालमा टुङ्ग्याउने भनेर मुख्यमन्त्री राजेन्द्र राई लागेका छन् । प्रादेशिक संसद्मा प्रदेशकाे नामबारे विवाद उत्पन्न भइरहेकाे छ । संसद्मा फरक राजनीतिक दलले फरक नाम प्रस्ताव गरेका छन् । त्यसमा किरात र काेशी बढी चर्चामा छन् । मुख्यमन्त्री राजेन्द्र राईले आफू किरात प्रदेशकाे पक्षमा रहेकाे बताएका छन् ।








