निर्माण सम्पन्न भएको १ सातामै उप्कियो कालोपत्रे, नगरपालिकाकै कर्मचारीको ठेक्का

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कालोपत्रे गरिएको सडक निर्माण सम्पन्न भएको एक साता दिनमै उप्किन थालेको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे निर्माण सम्पन्न भएको साता दिनमै उप्किन थालेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले २५ लाखमा सम्झौता गरेका थिए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुखका दीपक नेगीका भाइ प्रकाश र शुक्लाफाँटा नगरपालिकाका कर्मचारी टेकेन्द्रप्रसाद भट्टले संयुक्त रूपमा सडक निर्माणको काम गरेका थिए । भट्ट नगरपालिकाको योजना शाखामा कार्यरत सब-इन्जिनियर हुन् ।

पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सब इन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप छ। कालोपत्रे भत्किन थालेपछि स्थानीयले विरोध गरेका छन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि पटक–पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाए पनि कसैले चासो नदिएको स्थानीयहरूको आरोप छ ।

अहिले काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुनः कालोपत्रे गर्न लगाइने नगरपालिकाका सूचना अधिकारी हेमराज भट्टले बताए । स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले पनि कालोपत्रे सडकको निरीक्षण गरेका थिए ।

अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगरप्रमुख महराले भत्किएको ठाउँमा मात्रै नभई पुनः कालोपत्रे गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *