वैकल्पिक शक्ति बनाऔँ : बाबुराम, माओवादीमै आउनुस् : प्रचण्ड

काठमाडाैँ । सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईबीच मंगलबार दिउँसो भेटघाट भयो । सिंहदरबारस्थित माओवादी केन्द्रकाे संसदीय दलकाे बैठककक्षमा भएकाे भेटमा उनीहरूबीच ‘मिलेर जाने’ बारे छलफल भएकाे छ ।

यसअघि पनि उनीहरूबीच यहीखाले भेट दुईपटक भइसकेकाे छ । आजकाे भेटमा त्यही दुई भेटमा भएका कुराकानी नै दाेहाेरिएकाे प्रचण्डनिकट एक नेताले बताएका छन् । ‘मूलत: मिलेर कसरी अगाडि जाने भन्नेबारे छलफल भएकाे हाे,’ उनले भनेका छन्, ‘मिलेरै अगाडि जाने भन्ने निष्कर्ष भएपनि मिल्नेचाहिँ कसरी भन्ने अहिलेकाे मूल कुरा हाे । त्यसैमा छलफल भयाे दुई नेताबीच ।’

उनकाअनुसार बाबुरामले वैकल्पिक शक्ति बनाउन प्रस्ताव गरेका थिए । जवाफमा प्रचण्डले माओवादीमै आउन आग्रह गरे । बाबुराम-प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भनेका छन्, ‘उहाँहरूबीचकाे कुराकानी सही ठाउँमा पुगेन । यसअघि पनि त्यहीखाले कुराकानी हुन्थे । फेरि त्यही दाेहाेरिए ।’

प्रचण्डकाे माओवादीमै आउनुस् भन्ने प्रस्तावमा बाबुरामले आफू साेही नामबाट निस्केर पुन: त्यही नामकाे पार्टी फर्कन नसक्ने बताएका थिए । बाबुराम पूर्वमाओवादी नेता नै हुन् । उनले वामपन्थ छाडेकाे उद्घाेष गर्दै विसं २०७२ नयाँ शक्ति गठन गरेका थिए । नयाँ शक्तिबाट उपेन्द्र यादव नेतृत्वकाे सङ्घीय समाजवादी फाेरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी बनाए उनले । यस्तै २०७७ मा आएर समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वकाे राष्ट्रिय जनता पार्टीबीच पुन: एकीकरण भयाे र बन्याे जनता समाजवादी पार्टी ।

जुन अहिले राजनीतिकरूपमा फुटिसकेकाे छ । यसबाट बाबुरामले अलग्गिने निर्णय गरिसकेका छन् । यहीबेला प्रचण्डसँग बाक्लिएकाे उनकाे भेटले नेपाली राजनीतिक वृत्तमा महत्त्वपूर्ण अर्थ राख्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =