एमाले र एकीकृत समाजवादी परस्पर नरम, एकताको लागि छलफल

काठमाडौँ । नेकपा एमालेका र एकीकृत समाजवादीका नेताहरूको पछिल्ला अभिव्यक्तिलाई नियाल्दा दुवै पार्टी एकअर्कामा नरम देखिएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि नेकपा एसका अध्यक्ष माधव नेपाललाई सत्तोसराप गर्न छोडिसकेका छन् । अध्यक्ष ओलीले नेताहरूसँग नेकपा एस पनि एउटा पार्टी हो भन्न थालेका छन् ।

कार्यक्रमहरूमा माधव नेपालको कटु आलोचना गर्ने केपी ओली हिजोआज कांग्रेसलाई मात्र गाली गर्न थालेका छन् । एसका अध्यक्ष माधव नेपाल पनि एमाले अध्यक्षको सत्तोसराप गरेर अभिव्यक्ति दिएका छैनन् ।

अध्यक्ष नेपालले ३० असारमा भएको एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव नेपालले एमालेलाई अब धेरै प्रहार नगर्ने बताए । उनले भने, ‘एमालेले धेरै प्रहार नगरिरहेका बेला हामीले पनि धेरै प्रहार गर्दा उचित हुँदैन, मसिनोसँग हेरिरहेका छौँ ।’

एमाले अध्यक्ष केपी ओलीले हिमालयन होटेलमा सम्पादकहरूको अन्तर्संवादमा पार्टी एकता जोगाउन नसक्नुमा आफ्नो कमजोरी स्वीकारेपछि माधव नेपालको यो भनाइ आएको हो । अध्यक्ष ओली अन्तर्संवाद पछिका कार्यक्रममा पनि माधव नेपाललाई सत्तोसराप गरेका छैनन् भने नेपाल पनि एमालेलाई गाली गरेका छैनन् । दुवै पार्टी अहिले एकअर्कामा नरम छन् । यसबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र हच्केका पनि छन् ।

नेकपा एसका एक नेताका अनुसार नेकपा एमाले र एकीकृत समाजवादी नजिक हुनु कुनै नौलो कुरो होइन, हिजो थोरै टाढा थियौँ होला, अहिले नजिक भइरहेका छौँ । ती नेताले भने, ‘नजिक हुँदै गएपछि तालमेल र एकताको बहस पनि होला, आखिरी दुवै वामपन्थी शक्ति हो, दुवैले आत्मालोचना गर्ने ठाउँमा पुगे भने एकीकरणको नजिक पनि पुगिएला ।’

ती नेताका अनुसार अहिले नै एमाले र एकीकृत समाजवादी पार्टी एकताको हुने लाइनमा त छैन, तर एक अर्काको आलोचना गरेर कसैलाई फाइदा छैन भन्ने लाइनमा दुवै पार्टी पुगेका छन् ।
एमाले र एकीकृत समाजवादी एकीकरण गर्नुपर्ने मतसहित दुवै पार्टीका केही नेता लागिरहेका स्रोतको भनाइ छ । हिजोको गल्ती कमजोरीमा आत्मालोचना गर्दै एकीकरणमा लैजान केही नेता लागिरहेका छन् । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता घनश्याम भुसाल, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, जगन्नाथ पौडेललगायतका नेताहरू नियमित छलफलमा जुटेका स्रोत बताउँछ । उनीहरूबिच पार्टी एकीकरण गरेर चुनावमा गएमात्र जित हात पार्न सकिनेसम्म चर्चा भइरहेका छन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले आत्मालोचना गरे मात्र एकताको ढोका खुल्नेछ । ती नेताले भने, ‘एकताको लागि कुराकानी अगाडि बढे सत्ता गठबन्धनमा नरहन पनि सकिन्छ, तर एमाले अध्यक्ष ओलीले आत्मालोचना गर्नैपर्छ, संसद् विघटन गल्ती हो भन्नैपर्छ ।’ ती नेताका अनुसार एकीकृत समाजवादी पार्टी वामपन्थी एकताको पक्षमा रहेको छ ।

एकीकृत समाजवादी पार्टीले भनेजसरी एमाले अध्यक्ष ओली हत्तपत्त संसद् विघटन गल्ती हो भन्दै आत्मालोचना गर्ने मुडमा छैनन् । ओलीले संसद् विघटन पार्टीका लागि घातक भन्ने अवस्था छैन । ओलीले आत्मालोचना गर्नुपर्ने नेकपा एसले भने पनि ओलीले आत्मालोचना गरिहाल्ने र पार्टी एकता पनि सुरु भइहाल्ने अवस्था त छैन ।

एमाले एक नेताले भने, ‘तत्काल पार्टी एकता हुने कुरा छैन, एकीकरण गर्नुपर्छ भन्नेमा कति नेताहरू हुनुहुन्छ, कांग्रेसको पुच्छर भएर पार्टी एकता त हुँदैन, पहिला त पुच्छर छोड्नुपर्छ, अनि कुराकानी हुन सक्ला । कांग्रेसको पुच्छर समातेर कुनै एकता हुने छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *