कोभिडको संक्रमण बढ्यो, मोरङ कारागारका ५४ जना संक्रमित

विराटनगर । मोरङ कारागारमा १६ जना संक्रमित फेला परेपछि विराटनगरमा फैलिएको कोरोनाको संक्रमण दर अहिले बढ्दै गएको छ ।
आइतबार दिउँसोसम्म प्रदेश १ मा पछिल्लो २ घण्टामा ८१ जनामा संक्रमण देखिएको छ भने कारागारमा मात्र ५४ जनामा संक्रमण देखिएको छ । बिहीबार जिल्ला कारागार मोरङमा उच्च ज्वरोका बिरामी देखिएपछि कोरोना परीक्षण सुरु गरिएको थियो ।
परीक्षण गरिएका मध्ये ५४ जना कैदी बन्दीलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । पहिलो दिन परीक्षण गर्दा १९ जनालाई पोजेटिभ देखिएकोमा आइतबार थप ३५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमित भएका सबै कैदी बन्दीलाई कोसी कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताए । कारागारमा पनि आइसोलेसन सेन्टर स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार लक्षण देखिएकालाई आइसोलेसन सेन्टरमा राख्ने र परीक्षण पछि कोभिड अस्पतालमा लाने गरिएको छ ।
विराटनगर बढी संक्रमित
प्रदेश १ मा कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा गरिएको पीसीआर परीक्षणमा ७४ जनालाई कोरोना पोजेटिभ देखिएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजोन परीक्षण गरिएका ७ जनालाई पनि कोरोना देखिएको छ ।
प्रदेशमा १० दिन अघि सम्म सक्रिया कोरोना संक्रमितको संख्या २ थियो । १० दिनको अन्तरालमा प्रदेशमा सक्रिया संक्रमितको संख्या १११ पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार २ बजे सम्मको तथ्यांक अनुसार मोरङमा ४९ जना कोरोनाका सक्रिय संक्रमित देखिएका छन् । जसमध्ये विराटनगर महानगरपालिकामा मात्र ४४ जना छन् ।








