पम्फा भुसालले दाेहाेर्याइन्- सहमति हुने अवस्थामा महासचिव बन्छु, याेग्य हुँ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता पम्फा भुसालले आफू पार्टीकाे महासचिव बन्न याेग्य भएकाे दाबी दाेहाेर्याएकी छन् । ‘म पार्टीकाे महासिवचका लागि याेग्य हुँ,’ उनले भनेकी छन् । यद्यपि आफूले ‘महासचिव नै चाहिन्छ’ भनेर नेतृत्वसँग कहिल्यै नभनेकाे उनकाे प्रष्टाेक्ति छ । आफूले सहमतिमै पदाधिकारी टुङ्गिने अवस्थामा भए आफू पनि महासचिवकाे याेग्य भएकाे बताइन् । ‘सहमति हुने अवस्थामा मैले महासचिवमा दाबी गरेको हो,’ उनले भनेकी छन् ।
मकालुखबरसँग कुराकानी गर्दै उनले पदाधिकारी टुङ्ग्याउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै दिएकाे बताइन् । ‘हामी सबैले अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिएका छौँ । उहाँले ल्याउने नाममा हाम्रो सहमति रहन्छ । अध्यक्ष प्रचण्डलाई प्रस्ताव ल्याउनुस् हामी मान्छौँ भनेका छौँ । अब टुङ्गिन्छ भन्ने लाग्छ,’ उनले भनेकी छन्, ‘हाम्राे सहमति रहन्छ, त्यसका लागि प्रस्तावित नामहरू चित्त बुझ्ने हुनुपर्छ हामीले भनेका छाैँ ।’
पदाधिकारी टुङ्ग्याउने काममा विलम्ब भएकाे स्वीकार्दै उनले साउन १५ सम्ममा टुङ्गिने उनले बताइन् । ‘पोलिटब्यूरो भएको छ । यही साउन १५ गतेभित्र बैठक बस्छ र त्यसले निर्णय गर्ला,’ उनले भनेकी छन् ।








