अस्थिर बाबुराम भट्टराई !

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई पार्टीले कारबाही गर्दै निष्कासन गरिसकेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा भएको केन्द्रीय कमिटीले डा भट्टराईसहित ९ नेतालाई कारबाही गर्दै पार्टीले निकालेको हो ।

हुन त भट्टराईले पनि पार्टीबाट निष्कासन हुनुअघि नै काठमाडौँ आफू पक्षका नेतालाई राखेर छुट्टै बैठक चलाएका थिए, उनीसहितको भेलाले नयाँ शक्ति निर्माणको विकल्प नरहेको निर्णय गरेको थियो । डा भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गरी अब नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । जनता समाजवादी पार्टीको ४० प्रतिशत केन्द्रीय कमिटी लिएर बसेका भट्टराईले अब नयाँ पार्टी खोल्ने तयारी गरिरहेका छन् ।

डा भट्टराईले विज्ञप्तिमा उपेन्द्र यादव पक्षको कमिटीले गरेको कारबाहीको घोर भर्त्सना गर्दै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । डा भट्टराई अब फेरि अर्को पार्टी निर्माणमा जुट्ने देखिएको छ ।

२०७२ असोज ९ मा माओवादी मुख्यालय पेरिसडाँडालाई भूकम्पमा भत्किएको रातोघरको संज्ञा दिएर माओवादी केन्द्रबाट निस्केका बाबुराम भट्टराई यो सात वर्षको अवधिमा यति अस्थिर भए कि, उनी कुनै पार्टीमा टिक्नै सकेनन् । मुलुकलाई आर्थिक समृद्धितिर लैजान वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै सदैव यसैको दौडमा आफूलाई अस्थिर बनाइरहेका भट्टराईको व्यक्तिगत स्वभाव नै नयाँ प्रयोगको दौडिरहने खालको देखिन्छ ।

उनी निकट एक नेताका अनुसार बाबुराम भट्टराई अस्थिर होइनन्, नयाँ प्रयोगको अभ्यास गर्दै देशलाई अग्रगमनमा लैजान खोज्छन्, जुन अभ्यासको थालनी गर्न नपाए उनी त्यहाँ झुकेर बस्न सक्दैनन् । ती नेताले भने, ‘उनी कमजोर भएका छैनन्, झन् बलियो भएर आइरहेका छन्, असफलताकै बिचमा पनि मैदानमै बसेर एकपछि अर्को नयाँ प्रयोग गरेर आफूलाई सफलतातर्फ लैजाने नेता हुन भट्टराई ।’

संविधानले संस्थागत गरेको र मुलुकलाई आर्थिक समृद्धितिर लैजान वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै डा भट्टराई अहिले पनि वकालत गर्दै हिँडिरहेका छन् । बौद्धिक नेताभित्र पर्छन् डा भट्टराई । २०२६ सालका एसएलसी बोर्डफस्ट, माओवादी सशस्त्र विद्रोहमा महत्त्वपूर्ण भूमिका खेलेका नेता आखिरी अहिले ७ वर्षमा फरक फरक पार्टी बनाउँदै हिँडेका भट्टराईले कस्तो खालको वैकल्पिक शक्ति निर्माण गर्न खोजेका हुन् त्यो त आउने दिनले बताउला, तर भट्टराईलाई सामान्य आम मानिसको नजरबाट हेर्दा उनी अस्थिर र विचलित देखिन्छन् ।

गणतन्त्र घोषणापछिको पहिलो सरकारमा अर्थमन्त्री ०६८र०६९ मा प्रधानमन्त्रीको भूमिकासमेत निर्वाह गरेका भट्टराईप्रति बौद्धिक नेताको छवि त बनाए, तर जुनकुनै पार्टीमा प्रवेश गरे पनि वा पार्टी निर्माण गरे पनि उनी टिक्न भने सकेनन् ।

माओवादी केन्द्रबाट अलग भएपछि ‘सम्भव छ हाम्रै पालामा’ भन्दै ०७३ को जेठ ३० मा उनले नयाँ शक्ति पार्टीको घोषणा गरे । आक्रामक प्रचारसहित रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा गर्दा उनको उत्साह र उमंग छुटै थियो । पार्टीका कार्यकर्तामा जोशजाँगर थियो । नायिका करिस्मा मानन्धरलगायतका कलाकारहरू नयाँ शक्तिमा थिए ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति पार्टीबाट डा भट्टराईबाहेक कसैले जितेनन् । त्यसपछि नयाँ शक्ति पार्टीको चर्चा बिस्तारै कम हुँदै गयो । नयाँ शक्ति पार्टीबाट पार लाग्ने नदेखेपछि उनै भट्टराईले ‘समाजवादी पार्टी नेपाल’ को घोषणा गरे । समाजवादी पार्टी घोषणा सभामा पत्नी हिसिला यमी र पूर्व स्वकीय सचिव गंगानारायण श्रेष्ठबाहेक पूर्वमाओवादी पृष्ठभूमिका अरू कुनै नेता थिएनन् ।

चुनावी नतिजाबाट हार खाएपछि डा भट्टराईले समाजवादी पार्टीलाई फेरि २०७६ वैशाख २३ गते मधेश केन्द्रित दल संघीय समाजवादी फोरमसँग एकता गरे । उपेन्द्र यादवलाई नै अध्यक्ष समेत स्वीकार गर्न उनी तयार भए ।

डा भट्टराई संघीय समाजवादी पार्टीको पनि संघीय परिषद् अध्यक्षकै भूमिकामै रहे । संघीय समाजवादीसँग मिसिएको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेश केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भयो तर त्यो एकता पनि डा भट्टराईको लामो समय टिक्न सकेन ।

माओवादीबाट छुट्टिएर नयाँ शक्ति र त्यसपछि तराईको क्षेत्रीयतावादी राजनीतिसँग जोडिएका डा भट्टराईले जुन यात्रा तय गरे‚ त्यो यात्रा एकपछि अर्को असफल बन्दै गइरहेको छ ।

अब फेरि उनी अर्को नयाँ पार्टी गठनमा लागेका छन्, अबको उनको यात्रा कस्तो हुने हो भावी दिनहरूले बताउनेछ । सम्भवतः उमेरका कारण आउँदो निर्वाचनको लडाइँ उनका लागि अन्तिम हुन पनि सक्नेछ । भट्टराईले अब गठन गरेको पार्टी पनि उनको लागि अन्तिम हुन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *